Short Movie – MAHESH SHRESTHA https://bhajumahesh.com artist | comms & media specialist Sun, 11 Oct 2020 07:26:01 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.6.2 https://bhajumahesh.com/wp-content/uploads/2024/06/cropped-BHAJUMAHESH.COM-800-1-32x32.png Short Movie – MAHESH SHRESTHA https://bhajumahesh.com 32 32 183747163 सर्ट फिल्म? https://bhajumahesh.com/shortfilm/ https://bhajumahesh.com/shortfilm/#respond Sun, 11 Oct 2020 07:24:42 +0000 https://bhajumahesh.com/?p=360 Read More]]> “नियमित जबबाहेक अरु के गर्दै हुनुहुन्छ ?” एकजना परममित्रले सोधे ।

“सिर्जनात्मक काम नगरेको धेरै भयो, त्यही भएर एउटा फिलिम गर्दैछु,” मैले भनें ।

“ओहो, फिलिम ? कस्तो फिलिम नि ?” उनले जिज्ञासु हुँदै भने ।

मैले भनें, “सामान्य हो । एउटा सर्ट फिलिम गर्दैछु ।”

यति भन्नासाथ उनले रंगिला नजर लाउँदै भने, “ओहो सर्ट फिलिम ? लु गज्जब । मलाई नि मनपर्छ त्यस्तो सर्ट फिलिम । बिहानै २–३ वटा हेरिन्छ । अनि फ्रेस भइन्छ ।”

मैले उनको कुरा बुझिहालें । र, हत्तपत्त उनलाई सम्झाउँदै भने, “हैन हैन ! मैले बनाउन लागेको फिलिम त्यस्तो हैन । अभ्यास नि हुँदै जान्छ भनेर यो काम गर्न लागेको हुँ । तपाईंले खोजेजस्तो खुराक शायद यसमा पाउनुहुन्न ।”

उनी फिस्स हाँसे मात्र ।

० ० ०

भोलिपल्ट हाम्रो सर्टफिल्मको सदस्य अम्बरसँग भेट भयो । मैले हाम्रो फिल्मका लागि तयार गर्दै गरेको स्टोरी बोर्डका स्केच देखाएँ । ऊ स्केचहरू देखेर दंग पर्यो । हेरिसकेर भन्यो, “मलाई पनि आज एकजना दाइले इटहरीबाट फोन गर्नुभएको थियो । त्यो अस्ति तपाईले फेसबुकमा पोस्ट गर्नुभएको पोस्टर हेरेर फोन गर्नुभा रै’छ !”

“ए हो र ? के भन्नुभयो त दाइले ?” मैले उत्सुक हुँदै सोधें ।

“भाइले फिलिम गर्दै रै’छौ । कस्तो फिल्म हो, के फिल्म हो भनेर सोध्नुभो । मैले सर्ट मुभी हो दाइ भनें । उहाँले हत्तपत्त ‘युट्युबको लागि हो ?’ भनेर सोध्नुभो । मैले, ‘अँ ऽऽ पछि युट्युबमा नि आउँछ’ भनें । उहाँले पनि तपाईंको साथीले झैं रंगिला प्रश्नहरू गर्नुभो । उहाँलाई बुझाउन मलाई हम्मेहम्मे भयो ।”

अम्बरले यति भनेपछि दुवै हाँस्यौं !

० ० ०

सर्ट फिल्म ?

हो सर्ट फिल्म । अर्थात् लघु चलचित्र वा छोटो समयावधिको चलचित्र । ४० मिनेटसम्म वा सोभन्दा कम समयावधिको चलचित्रलार्इ सर्ट फिल्म भनी परिभाषित गरिएको छ । ४० मिनेटभन्दा माथिको चलचित्रलाई फिचर लेन्थ भन्ने गरिन्छ, जुन हलहरूमा चल्छन्, लाग्छन् वा प्रदर्शन हुन्छन् ।

सर्ट फिल्महरू चलचित्र क्षेत्रमा पछि निर्देशकका रूपमा वा चलचित्रकर्मीका रूपमा करिअर बनाउन चाहनेहरूले अभ्यास गर्ने विधा हो । यी चलचित्रहरू विशेष प्रदर्शनीका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी गराउनका लागि पनि निर्माण गरिन्छ । यस्ता चलचित्र स्वतन्त्र चलचित्रकर्मीले आफूजस्तै मन मिल्ने टोलीसँग मिलेर न्यून खर्च लाग्ने गरी वा कुनै पनि खर्च नलाग्ने गरी बनाउँछन् । यस्ता चलचित्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी भई ख्याति कमाएमा वा कुनै निर्माताको ध्यान तान्न सकेमा पछि फिचर लेन्थको चलचित्रका लागि लगानी पाउन सक्ने सम्भावना पनि हुन्छ । नत्र यति पनि नभए एउटा चलचित्र बनाउन रूचाउने व्यक्तिलाई राम्रो अभ्यास भने हुन्छ । भलै पहिलेजतिको ख्याति अहिले छैन ।

० ० ०

सर्ट फिल्म ?

हो सर्ट फिल्म !

अर्थात् अचेल युट्युबमा बऽऽऽबाल चल्ने जस्तो सर्ट एन्ड सेक्सी फिल्म ?

हो या होइन ?

० ० ०

हालै केही साथीहरूले सामाजिक सञ्जालमार्फत सर्ट एन्ड सेक्सी (यहाँ सेक्सी भन्नाले छाडा वा अश्लील भनेर बुझौं) फिल्मविरूद्ध एउटा अभियानै चलाएका छन् ।

“तपाईंलाई कुरा ठीक लाग्यो भने सेयर गर्नुहोस् र कम्प्लेन गर्न सघाउनुहोस् । Nepali Short Movie को नाममा युट्युब छाडा सामग्रीले भरिँदैछ । छोटो समयमा धेरै दर्शक बटुलेर मनग्य पैसा उठाउने खेलमा यस्तो हुँदैछ । यसले नेपालभित्र मात्र नभई विश्वमै नेपाली चलचित्रप्रतिको इमेज बिगार्दैछ । लौ न केही गरौं ।”

माथिको स्टाटस वा पोस्ट अचेल फेसबुक वा ट्विटरका टाइमलाइनमा चर्चित बनेको छ । चाँडै चर्चामा आउन र मनीटाइज (युट्युबमा यो सुविधाअन्तर्गत रेभेन्यूबापत पैसा आउने प्रबन्ध छ) गरी डलर कमाउने प्रलोभनमा अहिले जोकोहीले पनि यस्ता सर्ट फिल्म बनाउने अनि आफ्नै युट्युब च्यानल खोली अनलाइन टिभीका नाममा विकृति भित्र्याइरहेका छन् । यस्ता नेपाली सर्ट फिल्महरू नेपाललगायत विदेशका विभिन्न सहरमा बनिरहेका छन् । युट्युबमा च्यानलहरू पनि दिनप्रतिदिन बढ्दैछन् । युट्युब लगइन गर्नासाथ यस्ता भिडियोहरू ह्वारह्वार्ती ओइरिन्छन् ।

यसले सर्ट फिल्म विधाकै बदनाम त गरिरहेको छ नै, नेपालभित्र मात्र नभई विश्वमै नेपाली चलचित्रको छवि धमिलिँदै गएको छ । त्यसैले पनि युवा पुस्ताले कस्तो सर्ट फिल्म बनाउने, हेर्ने वा प्रवर्द्धन गर्ने भनी सोच्नैपर्ने बेला आएको छ ।

सर्ट फिल्म ?

हो सर्ट फिल्म !

शुभम् ।

० ० ०
Originally published in ‘Baahrakhari.com‘ on २०७३ असार २५, शनिबार

]]>
https://bhajumahesh.com/shortfilm/feed/ 0 360