Fiction – MAHESH SHRESTHA https://bhajumahesh.com artist | comms & media specialist Sun, 11 Oct 2020 14:27:21 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.6.2 https://bhajumahesh.com/wp-content/uploads/2024/06/cropped-BHAJUMAHESH.COM-800-1-32x32.png Fiction – MAHESH SHRESTHA https://bhajumahesh.com 32 32 183747163 जुनले समेत मुख छोपेको रातमा https://bhajumahesh.com/junle-samet-mukh-chopeko-raatma/ https://bhajumahesh.com/junle-samet-mukh-chopeko-raatma/#respond Fri, 09 Oct 2020 16:11:55 +0000 https://bhajumahesh.com/?p=295 Read More]]> सधैँको त्यो शून्य सडक । त्यही शून्य गल्ली र म एक्लो यात्री । गन्तव्यको खोजीमा भौतारिरहेको म एक लक्ष्यविहीन यात्री । जुनेली रात । झ्याउँकिरीको ‘झ्याउँ झ्याउँ’ र कुकुरको ‘भुङ् भुङ्’मा रत्तिँदै आफ्नो दुलो खोज्दै लम्किरहेको म उही यात्री । बाटोको मार्गदर्शक झैँ सदा ठिङ्ग उभिइरहने त्यो बिजुलीको पोलको बत्ती पनि ‘झ्याप्प झ्याप्प’ र ‘झिम्म झिम्म’ गर्दैछ । त्यो कहिले निभ्दै त कहिले बल्दै आफ्नो दैनिकी गुजारिरहेको छ । पोल नजिकैको कन्टेनरमा आफ्नो बासस्थान बनाएर बसेको एउटा भुस्याह कुकुर मलाई टाढैबाट देखेर भुक्छ- ‘भुङ्…भुङ्…भुङ्…भुङ्’ । तर त्यसको भुकाइमा कटुता छैन । न त रीस नै । एक किसिमको मिठास छ त्यसको भुकाइँमा । यस्तो लाग्छ त्यो मलाई भुकेर गाली नगरी नतसा्रइ मेरो स्वागत गरिरहेछ । मेरो आगमनमा खुसी भई दुई चार शव्द मिठो बोल्दै छ । म त्यसको नजिक पुग्नासाथ त्यो मलाई देखेर आफ्नो बाङ्गो पुच्छर झन् बाङ्गो पार्दै हल्लाउँछ सायद मलाई स्वागत गर्न र मलाई एकचोटी गज्जवसँग नाक हल्लाई हल्लाई ‘स्वाक स्वाक’ र ‘सुक सुक’ गर्दै सुँघ्दछ । ऊ आफ्नो देवे्र हात सकि नसकी मतिर बढाउँदछ सायद पहिलो भेटमा हात मिलाउन । उसको दाहिने हात गएको महिना एउटा ट्याक्सीले किचिदिएर भाँचिएको थियो । म उसको देब्रे हात समात्छु र एकछिनसम्म सुम्सुमाउँछु । खल्तीबाट रुपियाँगोटाको दुईवटा पिङ्की बिस्कुट झिकेर उसको सामुन्ने छरिदिन्छु । ऊ दङ्ग परेर बिस्कुट चपाउन थाल्छ । म भने आफ्नो गन्तव्यतिर लम्कन्छु । ऊ बिस्कुट छाडेर मलाई परसम्म छोड्न आउँछ । केहीबेर हिँडेपछि ऊ पुनः आफ्नै बासस्थानतिर फर्कन्छ ।

देख्दैछु त्यो परबाट ब्रेकलेस मोटरझैँ वल्लो भित्ता र पल्लो भित्ता गर्दै हान्निदैँ र ठोकिँदै यतै आइरहेको छ । त्यो नजिक आउनासाथ टाढाबाट नै ह्वास्स् खोया गन्हाउँछ । कोदोको कट खाने सुँगुर गनाएझैँ । ऊ म नजिक आइपुग्छ र मातेको स्वरमा बर्बराउँनथाल्छ । सधैँ बर्बराउँने उसको संवाद उसलाई कण्ठै छ-‘ह्यालो सर…हाउँ ,फाइन थ्याङ्कु…था’ छ…उ ‘ऊऽऽऽ… ‘ओठ नै पूरै गोलो पार्दै ऊ आकाशतिर देखाउँदै ‘ऊऽऽ’ उच्चारण गर्दैछ । ‘हो ऊ त्यो आकाशको चन्द्रमा छ नि…हो त्यो चन्द्रमा क्या हुचुकु प्यामे…त्यो चन्द्रमा मैले नै त्याँ पुर्याइद्या…ऊऽऽऽ त्यो इनारबाट ।’ केही नजिकै रहेको इनारलाई देखाउँदै ऊ सिल्ली हाँसो हाँस्दछ । उसको हाँसोमा बडो बहादुरीताको आभाष पाईन्छ । इनारको पानीमा देखिने चन्द्रमा उसले नै आकाशमा पुर्याएको हो भन्ने घमण्ड छ उसमा । त्यो बाटोमा आउने जाने जतिलाई भेट्यो उसले सबैका अगाडि त्यही वाक्यांश फट्फटाउँछ । रटाएको सुगाले झैं । र हरेक संवादको शुरुवातमा उसको उही चिरपरीचित थेगो झुण्डिएको हुन्छ ‘हुचुकु प्यामे’ । यसको अर्थ उसैलाई मात्र थाहा छ । जसको अर्थ न त मैले अझसम्म उसलाई सोधे न त अझसम्म उसलाई भेट्ने कसैलाई नै थाहा होला । कतिले उसको कुरामा विश्वास पनि गर्छन् त कति ‘ह्या जड्याहाँ’ भन्दै झर्केर बाटो लाग्छन् । यसरी बित्ने गथ्र्यो उसको रातचर्या । जुनेली रातमा जुनको कुरा त औंशीको रातमा ताराको । जुन र तारा नै उसको गफ गर्ने बहाना बनिसकेको थियो । तर उसलाई विश्वास छ आफू र आफ्नो कार्यमा ।
मात्र आफूलाई ।

अचानक म झस्किन्छु । अलि परको मोडमा एउटा बाक्लो झाडी छ । यो जुनेली रातमा झाडी हल्लिएको प्रष्टै देखिन्छ । म तर्सिए कतै त्यहाँ कुनै जनावर चोर डाका वा वा दश बर्षे जनयुद्धको परिणाम…म केहीबेर टाढै टक्क रोकिन्छु । कान ठाडो पार्छु । दाया वायाँ हेर्छु । कतैबाट केहीको सुइको छैन । मात्र उही ‘हुचुकु प्यामे’को फेडेड आवाज । अव त त्यो पनि सुन्न छाड्यो । म चिसो भए । लालाक लुलुक परे । केहीबेरको शून्यतालाई चिर्दै अजव गजवका आवाजहरु गुन्जिएको आभाष पाउन थाले । म भन् अकमक्क पर्न थाले । अब मलाई डरभन्दा बढी उत्सुकता जाग्छ । त्यही नजिक गएर हेर्न र बुझ्न मन लाग्छ । म बिस्तारै पद्चाप लिन्छु । नजिक पुग्न नपाउँदै…अचानक…अचानक एउटी सर्वाङ्ग नाङ्गी युवती अतालिन्दै बाहिरिन्छे । उनी मात्र हातको इसाराले त्यो झाडीतिर हेर्दै सराप्दै थिइन् । उनको आवाज अस्पष्ट थियो नबुझिने । तिनी लाटी थिइन् । उनको अनुहारमा लज्जामिश्रित भाव प्रस्टै देखिन्थ्यो । आँखामा भने आक्रोशको ज्वाला दन्किरहेको । उनी त्यसै त्यसै दाह्रा किट्दै थिइन् । उनी मलाई देखेर झन् डराउँछिन् र पर-पर हुँदै टाढिन्छिन् र केहीबेरमै विलिन हुन्छिन् । झाडीबाट दुईजना युवक आफ्नो प्यान्टको फस्नर लगाउँदै र मिलाउँदै बाहिरिन्छन् । उनीहरुको मुखाकृतिमा चरमानन्दको भावाव्यक्ति झल्कन्छ । मलाई देख्नासाथ तिनीहरु केही हच्कन्छन् । मलाई घुर्दै तिनीहरु मेरो नजिक आउँछन् र मलाई देखे नदेखे झैं गरि टाप कस्छन् । म सोचमग्न हुन्छु । यी दुई अनुहारलाई यसअघि मैले कतै देखेको भान हुन्छ । तर कहाँ कहिले र कुनबेला यी यावत् प्रश्नहरु मडारिन्छन् मेरो मूक मस्तिष्कमा । मैले सम्झिए । ती ठिटाहरु अरु कोही नभएर मेरै टोलका प्रतिष्ठीत कहलिएका महान् व्यक्तित्वहरुका सुपुत्र भनिने कुपुत्रहरु पो हुन् भन्ने । थुइकक ! भविष्यका कर्णधारहरु ! पृथ्विलाई भारि अनि आमा बालाई बोझ बनेका नामुदा दादाहरु ! राम्ररी सोच्न बोल्न नसक्ने मूक लाटीलाई समेत बाँकि राखेनौ है !…धिक्कार छ तिमीहरुलाई ! यदि आफ्नो यौवनको ज्वालामुखी सेलाउनु नै थियो त किन गएनौ ठमेल किन धाएनौं दरबार मार्ग छँदै थियो त तिम्रा बा आमाले भ्रष्टचार नामक इमान्दारी गरि कमाएको सम्पत्ति ।
म मूक रहेँ । केवल मौनदर्शक बनिरहेँ । त्यो केही बोल्न नसक्ने लाटीभन्दा पनि निकम्मा भएँ । थुइक्क्क्क !

झ्याउँकिरीहरु झन् झन् ‘झ्याउँ झ्याउँ’ गर्दै त्राहीमाम्का गीत गाउन थाले । कुकुरहरु चिच्याई चिच्याई रुन थाले । जून लाज ढाक्न बादलुको घुम्टो भित्र लुक्न खोज्दै थियो । तर म…म भने त्यही तितो घटना अमिलो सत्यलाई मनमा लिई निकम्मा र मूक भैं आफ्नै दुलोतिर लम्किरहेँ लम्किरहँे ।


महेश श्रेष्ठ | भाजु महेश
कुमारीगाल, काठमाडौं
20 April 2003

]]>
https://bhajumahesh.com/junle-samet-mukh-chopeko-raatma/feed/ 0 295
रेडियोमा बोल्ने केटाे https://bhajumahesh.com/story-radioma-bolne-keto/ https://bhajumahesh.com/story-radioma-bolne-keto/#respond Fri, 09 Oct 2020 15:54:04 +0000 https://bhajumahesh.com/?p=291 Read More]]> आज म रेडियोको कामले व्यस्त थिए । आज दिनभरि बज्ने कार्यक्रमहरुको समय तालिका तयार गर्दै थिए । रिसेप्सनबाट फोन आयो । मैले फोन उठाए । रिसेप्सनबाट मायाले भनिन्,“सर, हजूरलाई भेट्न एकजना भाइ आ’का छन् ।” मैले छक्क पर्दै भने, “भाइ ? को भाइ ?”


उही भाइ । मेरो टेवुल अगाडिको कुर्सिमा टुक्रुक्क बसेको थियो । “भाइको नाम ?” मैले सोधे ।
“सुजन ।” उसले आफ्नो नाम बतायो ।
“सुजन के ?” मैले फेरि सोधे ।
“सुजन दर्लामी ।” उसले आफ्नो पुरा नाम बतायो ।
“अनि यहाँ, रेडियोमा किन आएको त ?” मैले उसको अनुहार नियाल्दै सोधे ।
“अ…अ… ” उसले खालि अन्कनाएर, ‘अ…अ…’ मात्र भन्यो । मैले फेरि सोधे,
“किन आको त रेडियोमा घुम्न?”
“हैन काम गर्न । मलाई काम चाहियो सर ।” उसले एकै सासमा भन्याे ।
“काम ? म हाँस्न थाले ।” सायद उ प्रतिको अविश्वासले ममाथि जरा गाड्न थालिसकेको थियो । मैलो आकाशे रंगको फाटेको सर्ट, अनि गाढा रंगको निलो प्यान्ट लगाएको त्यो केटोको आत्मविश्वास भने अचम्मको लाग्यो मलाई ।

“के काम गर्ने हो र ?” मैले मुस्काउँदै सोधे ।
“जे पनि गर्नसक्छु ।” उसले जोस्सिदैं सुनायो ।
“कस्तो जे पनि भन्नाले ?” मैले फेरि सोधे ।
“जे पनि ।” उसको जवाफ यति मात्रै थियो । मैले विस्तारै खोतल्दै र बुझ्दै जाँदा सुजन भाइको पृष्ठभूमि यस्तो रहेछ ।

सुजनको पुर्खौली घर पर्वत रहेछ । पर्वतबाट पोखरा कामको खोजीमा आएका उनका बा–आमा रामघाटमा बालुवा चाल्ने काम गर्दा रहेछन् । सुजन पोखराकै एउटा सरकारी स्कूलमा पाँच कक्षामा अध्ययनरत रहेछन् । आर्थिक अवस्था कमजोर भएकाले, सुजनलाई नियमित रूपमा आफ्नो मासिक शुल्क तिर्न पनि धौ–धौ पर्दोरहेछ । स्कूल जाने, आउने क्रममा उसले हाम्रो रेडियोको टावर र साइनबोर्ड देखेको रहेछ । उसले हाम्रो रेडियो नियमित रूपमा सुन्ने पनि गरेको रहेछ । आज भने उ आफ्नै स्वइच्छाले यहाँ आएको रे । रेडियोमा बोल्ने अनि कार्यक्रम चलाउने उसको लक्ष्य छ रे ।

“के तिमी रेडियोमा बोल्न सक्छौं ?” मैले सोधे ।
उसको जोस भने कायमै थियो । “अ सक्छु ।” उसले जोस्सिदैं सुनायो ।
म उसको आत्मविश्वास माथि विश्वास गर्न सक्थे ।
“आज म निकै व्यस्त छु, भोलि यसै समयमा आउ न त है ?” मैले भने ।
सुजनले खालि मुन्टो हल्लायो । “सर मैले काम त पाउँछु नि है ?” उसले निन्याउरो अनुहार लाएर जानु अघि फेरि सोध्यो ।
“अ, पाउँछौ, पाउँछौ ।” मैले उसलाई आश्वासन दिए । सुजन ढोकाबाट बाहिर नजाउन्जेल मैले उसलाई नियालिरहे । आजसम्म यसरी काम माग्न म कहाँ कोही पनि आएका थिएनन् । तर आज मलाई यो सुजनको आगमनले अचम्मित तुल्यायो । उसको अनुहार मलाई दिनभर याद आइरह्यो ।


‘रेडियो झङ्कार’ । मैले काम गर्ने रेडियो । म यो रेडियोको स्टेसन म्यानेजर हुँ । हिजो अस्ति झै म राती बाह्र बजेसम्म रेडियोबाट प्रशारण हुने कार्यक्रमको समय तालिका मिलाउनमै व्यस्त थिए । यसो भित्ताको घडिमा हेरे । दिउँसोको ठिक तीन बजेको रहेछ ।

“सर नमस्कार ।” ढोकाबाट एउटा आवाज सिधै मेरो कानमा गुन्जियो । यसो बाहिर हेरे । उही सुजन ।
“अहो, सुजन तिमी ? ल, आउ, आउ भित्रै आउ ।” मैले उसलाई आफ्नो कोठा भित्रै बोलाए ।
उ भित्र पस्यो । आज ऊ हिजोभन्दा सफा र हँसिलो देखिन्थ्यो ।
“बस । ” उसलाई मैले कुर्सितिर देखाउँदै बस्न आग्रह गरे । उ बस्यो ।
“मैले त सोचेको थिए तिमी आउँदैनौ भनेर !” मैले उस्लाई जिस्काउने प्रयास गरे ।
“किन र सर ? म ढिला आए र ?” सुजनको हँसिलो अनुहार अचानक निन्याउरो भयो ।
“हैन, हैन हिजो तिमी यहाँ आ’को सपना पो होकी जस्तो लागेको थियो
मलाई ।…अ साँच्चै, तिमी के काम गर्ने रे ?” मैले उसलाई खुशी बनाउने प्रयास गर्दै सोधे ।
“जे पनि । मैले गर्नसक्ने काम । ” उ अलि हँसिलो देखियो ।
“भने पछि तिमी रेडियोमा कार्यक्रम चलाउन सक्छौ त ?” मैले सोधे ।
सुजन “अ सक्छु ।”
“ल त्यसो भए, हिँड स्टुडियोमा जाऊ ।” मैले उसलाई रेडियोको स्टुडियोमा लिएर गए ।

उ त्यहाँभित्र छिर्नासाथ अचम्ममा प¥यो । सायद उसले रेडियोको स्टुडियो कहिल्यै देखेको थिएन । ल, याँ कुर्सिमा बस । मैले उसलाई एउटा कुर्सितिर देखाउँदै बस्न आग्रह गरे । यता स्टुडियोमा मेरा प्राविधिक साथी गोविन्द थिए । उनी भोलि प्रसारणमा आउने कार्यक्रम सम्पादन गर्नमा व्यस्त थिए । भित्र ‘अन एयर’मा भने झरना थिइन् । उनको कार्यक्रमको समय सकिने बेला भइसेको थियो । सुजन अचम्म मान्दै स्डुडियो भित्रका सामाग्रीहरु जस्तैः साउण्ड मिक्सचर, माइक्रो
फोन, कम्प्युटर, अन एयर लेखिएको लाइट बक्स आदि नियाल्नमै व्यस्त थियो । झरना पनि कार्यक्रम सकेर बाहिर आइन् । मैले सुजनको परिचय उनीहरु दुवैजनासँग गरिदिए । झरना त्यो हिजोको स्क्रिप्ट कहाँ छ ? मैले भरनासँग सुजनलाई पढ्न दिनाका लागि तयार गरिएको स्क्रिप्ट मागे । झरनाले मलाई उक्त स्क्रिप्ट दिइन् । मैले त्यो
स्क्रिप्ट सुजनलाई देखाउँदै भने ।

“ल, सुजन तिमी यो पढ्न सक्छौ ?”
सुजनले स्क्रिप्ट हातमा लियो र मनमनै पढ्न थाल्यो । हामी गोविन्द, झरना र म, एकर्कालाई हेरेर मुसु मुसु हाँस्दै थियौं । सुजनले एकछिन स्क्रिप्ट हेरिसकेपछि मतिर हेर्दै भन्यो, “सर का बोल्ने हो ? म बोलु ।” हामी छक्क प¥यौं ।
“तिमी बोल्न तयार छौ त ?” मैले सोधे ।
“अ, तयार छु ।” सुजन बोल्नका लागि आतुर देखिन्थ्यो ।
“ल एकचोटी पढेर सुनाउँ त ।”
“अ…अ…प्यारा प्यारा मजस्तै साथी हो । रेडियो झङ्कारको रेडियो बाल कार्यक्रम कोपिलामा तपाईंहरु सबैलाई स्वागत छ ।”
अचम्म ! सुजनले स्क्रिप्टमा लेखिएको पहिलो अनुच्छेद खर्रर एकैचोटीमा पढ्यो । झरना, गोविन्द र म तीन छक्क पर्यौं । उसको स्वरमा मिठास पनि भरिएको थियो । हामीलाई लाग्यो सुजनले सजिलैसँग रेडियोमा कार्यक्रम चलाउन सक्छ ।
“राम्रो ! यो तिम्रो स्वर परिक्षा मात्र हो । आजलाई यति नै । त्यो स्क्रिप्टमा लेखिएका सबै कुराहरु तिमीले राम्ररी पढेर आउनु, भोलि । अनि फेरि भोलि राम्रोसँग रेकर्डिङ्ग गरौंला । हुन्छ? ल आज तिमी घर जाउ । भरना, सुजनलाई खाजा ख्वाएर पठाउ है ?”
सुजन गयो । म छक्क परेको थिए । सुजनले बोलेको सुनेर । लाग्छ, बर्षौ बर्षदेखि उ यही रेडियोमा, त्यही माइक्रोफोन अगाडि बसेर कार्यक्रम चलाउँदै आएको छ ।


भोलिपल्ट सुजन एकाबिहानै रेडियोमा आइपुग्यो । सदा झैं उसले मेरो कोठाको ढोकामा उभिएर ‘नमस्कार’ गर्यो । उसलाई मैले कोठा भित्र बोलाए ।
“तिमी त आज कति चाँडै आइपुग्यौ । किन आज स्कूल जानुपर्दैन ?” मैले सोधे ।
“उसले मुन्टो हल्लाएर ‘हैन’ भन्ने संकेत गर्यो । म छक्क परे ।
“किन त ? किन स्कूल नगएको त तिमी ?”
“म स्कूल नग’को तीन महिना भइसक्यो सर ।” उसले आफ्नो वास्तविकता बतायो । उसले किताव किन्न नसकेको अनि स्कूलको शुल्क तिर्न नसकेको कारण स्कूल नगएको तीन महिना भइसकेको रहेछ । मलाई यो कुरा सुनेर ज्यादै दुःख लाग्यो । उसले मलाई स्क्रिप्ट पढेर सुनायो । उसले मज्जाले स्क्रिप्ट पढ्न सक्ने रहेछ । उसको कार्यक्रम पनि रेकर्ड गरियो । अन्नतः उसलाई नियमित रुपमा कार्यक्रम चलाउन दिने निर्णय पनि गरियो । हरेक शनिबार बेलुकी ५ बजे देखि ५ः३० बजेसम्म रेडियो कार्यक्रम ‘कोपिला’ चलाउने भयो, सुजनले । सुजनलाई अन्य रेडियोका कर्मचारी र प्रस्तोतहरुले फुच्चे प्रस्तोता भनेर जिस्काउने गर्दथे । मैले उसलाई मासिक शुल्क, किताप र कापि किन्न पुग्ने पैंसा उसको पारिश्रमिकको रुपमा दिने सर्तमा कार्यक्रम चलाउन दिएको थिए ।


सुजनले रेडियोमा कार्यक्रम चलाउन थालेको एक महिना भइसकेछ । एकदिनको शनिबार सदा झै साढे चारै बजे आएर स्टुडियोमा कार्यक्रमका लागि पूर्व तयारी गर्ने सुजन, पाँच बजिसक्दा पनि आइपुगेन । रेडियोमा कार्यक्रम कोपिलाको जिङ्गल अनि गीत पनि बज्न थालिसकेको थियो । तर अझै सुजनको आगमन भएन । रेडियोमा भएका सबैजना यता र उती अनि खासखास–खुसखुस गर्न थाले। सुजन आइपुगेन । म ससंकित भए । मनमा चिसो पस्यो । के भयो त सुजनलाई । विस्तारै सवा पाँच पनि बज्यो । केही बाल गीतहरु बजाए पछि, म आफैं ‘अन एयर’मा बोल्न थाले ।
“प्यारा–प्यारा भाइ बहिनी हो, आज सुजनको ठाउँमा मेरो आवाज सुनेर तिमीहरू छक्क पर्यौ होला हैन ? तिमीहरु जस्तै म पनि छक्क परेको छु । आज तिमीहरुको प्यारो साथी, प्यारो कार्यक्र प्रस्तोता सुजन…खै किन हो यतिबेला सम्म पनि नआइपुगेको कारण मैले नै कार्यक्रम चलाउनु परेको हो । आशा, गरौं, सुजन आउँदैछ र आइपुग्ने छ । त्यतिन्जेल तिमीहरुको लागि यो अर्को मिठो गीत ।” प्राविधिक मित्र गोविन्दले ‘मेरो घर त ज्यामिरे…’ बोलको गीत बजाएर छाडिदिए । साढे पाँच बजेसम्म पनि सुजनको आइपुगेन । मैले सुजन अर्को हप्ता आउँछ भन्ने बाँचा दिएर कार्यक्रमको बिट मारिदिए ।


एकदिन, दुईदिन, तीन दिन भन्दा भन्दै एक हप्ता पछि अचानक सुजनको आगमन भयो । उसको अनुहार निन्यारो
थियो । उ साह्रै दुःखि देखिन्थ्यो । उसको पछि–पछि एकजना व्यक्ति पनि थिए । उ मातिए झैं देखिन्थ्यो । उसले लरबरिएको स्वरमा मतिर देखाउँदै सुजनसँग सोध्यो, “उही हो तेरो राजन सररररर् ।” सुजनले मुन्टोमात्र हल्लायो ।
उ कस्सिंदै मेरो नजिक आयो । हातको बाउला सुर्कदै मलाई तलदेखि माथिसम्म हेरेर आँखामा आँखा जुधाउँदै भन्यो,
“क्या हो सर, खुब रेडियोको धाक लाइन्छ ।” म छक्क परे । केही बोलिन पनि । मलाई लाग्यो यो मान्छे पक्कै पनि सुजनको आफ्नो मान्छे हुनुपर्छ । उनीहरुलाई मैले रिसेप्सनबाट आफ्नो कार्यकक्षतिर डाके । सुजन अघि–अघि र उ पछि–पछि हल्लिदै मेरो कोठामा प्रवेश गरे । मैले उनीहरुलाई बस्न भने । तर त्यो मान्छे बस्न मानेन, बरु बस्न आँटेको सुजनलाई रोक्दै भन्यो, “साला, बाउ त उभिएको छ । त चाहिँ किन बस्नु परो, हु ?” सुजन पनि बसेन । छेउमै उभिइ नै रह्यो ।

ए, टाढाबाटै ह्वास्स रक्सि गनाउने व्यक्ति अरु कोही नभएर सुजनका पिता पो रहेछन् ।
“तिमी अस्तिको हप्ता किन नआएको सुजन ?” मैले सुजनलाई बिस्तारै सोधे । उसले डराउँदै
आफ्नो बाबुको अनुहारतिर हेर्यो ।
“तपाईंलाई के मतलव ? जे गर्न नआए पनि ?” सुजनको बुबा भनौंदाले मलाई कड्किंदै सोध्यो ।
“तपाईंले के द्या‘छ र आउनलाई ? जाबो किताप, कापि किन्नलाई पन्ध्रसय रुपिया मात्र दिएर पुग्च ? भात खानु परेन, बाउ आमा पाल्नु परेन ? क्यार्न आउनु परो याँ ? खाइँ न पाइँ छाला टोपि लाइँ !”
उ थचक्क अगाडिको कुर्सिमा बस्यो ।

म अवाक रहे । केही बोल्नै नसक्ने भए । ट्वाल्ल परेर सुजनको निमुखा अनुहार हेरिरहें ।
“वा भने मेरो छोराले चाहिँ मरि मरि रेडियोमा बोल्ने, अनि आको पैंसा जति सबै तपैंहरु खाने? म तपाईंको रेडियो सेडियो बन्द गर्दिन्छु । मेरो पावर का‘सम्म छ थाच ?” उ अजङ्गसँग जङ्गिरह्यो । मेरो अफिसको ढोका वरपर रेडियोका अन्य कर्मचारीहरु झुम्मिन थालिसकेका थिए । मैले उनीहरुलाई संकेत गरेर जान भनिदिए । अन्ततः सुजन विस्तारै बोल्यो, “सर मलाई माफ गर्दिनु होला । म अब रेडियोमा बोल्दिन । म कार्यक्रम चलाउँदिन । म बाबा आमालाई नै
काममा सघाउँछु । रामघाटमा बालुवा चालेर आको पैंसाले हामीलाई खान बस्न पुग्छ । म अबदेखि
आउन्न ।” सुजन रुँदै बाहिरियो । उनको बाउ भने कुर्सिमा घुर्न थालिसकेको थियो ।
मैले सुजनलाई रोक्दै भने, “सुजन । पख ।” सुजन रोकियो ।
“सुजन, ठिकै छ तिमी रेडियोमा नबोल, रेडियोमा कार्यक्रम नचलाउ । तर, तिमीले पढ्न नछोड,
बा ।” मैले उसको काँधमा हात राख्दै भने । “तिम्रो पढाई राम्रो छ । तिमी पढेर पछि चाहेको मान्छे बन्नसक्छौं । तिमी पढेर असल मान्छे बन्न सक्छौं । म तिमीलाई चिनेको स्कूलमा छात्रवृत्ति मिलाईदिन्छु । तिमी त्यही पढ्नेछौं ।”

सुजनले पक्क परेर मलाई हेरिरह्यो । “हो सुजन, तिमी भोलि देखि नै बिद्या हाईस्कूलमा भर्ना हुनेछौ, तिमी त्यही पढ्नेछौ । आज, मैले थाहा पाए तिम्रो रेडियो बोल्ने रहर हैन बाध्यता रहेछ भनेर ।” सुजनले आफ्नो आँखाको आँसु पुछ्यो । उसको मुहारमा खुशी छायो । “हो र सर, के अब मैले पढ्न पाउँछु ?”
मैले उसलाई आश्वासन दिंदै भने, “हो, हो तिमीले अब चाहुन्जेल पढ्न पाउने छौं । तिमीले राम्रोसँग पढ्नुपर्छ । असल मान्छे बन्नु पर्छ ।”
सुजनले आफ्नो बाबुलाई कुर्सिबाट झक्झकाउँदै उठायो । सायद उसको आधि मात छुटिसकेको थियो । उ मुख चपाउँदै उठ्यो र ‘के भयो ?’ भने झैं चारैतिर हेर्नथाल्यो । मैले सुजनलाई भोलि बिहान नौं बजे आउन भन्दै, उसलाई घर जानको लागि भने । उ आफ्नो बाबुसँग बाहिरियो । उनको बाबुले मुख्य ढोकाबाट बाहिर निस्कनु अघि मतिर फर्केर ‘नमस्कार’ गर्यो, अनि फनक्क फर्केर सुजनको हात समातेर बाहिरियो ।


सुजनलाई मैले बिद्या हाइस्कूलमा भर्ना गरिदिए । उसले चाहुन्जेल सोही बिद्यालयमा पढ्न पाउने गरी छात्रवृत्ति पनि पायो । बेला–बेलामा सुजनलाई भेट्न म स्कूल गइरहन्छु । उसको पढाई राम्रो हुँदै गएको कुरा स्कूलका प्रधानाध्यपकले भेटमा बताउनु हुन्थ्यो । साथीहरुसँग पनि मिलनसार सुजन, राम्रो अंक ल्याएर उत्तिर्ण हुँदै आएको छ ।

म सुजनको उत्तरोत्तर प्रगतिको कामना गर्ने गर्छु । आशा छ उसले एकदिन उच्च शिक्षा हासिल गर्नेछ, अनि आफ्नो रेडियोमा बोल्ने सपना पूरा गर्नेछ । ‘रेडियोमा बोल्ने केटा’ तिमीलाई मुरीका मुरी शुभकामना !


महेश श्रेष्ठ | भाजु महेश, २०६७ माघ २५ गते

]]>
https://bhajumahesh.com/story-radioma-bolne-keto/feed/ 0 291