Personal Stories – MAHESH SHRESTHA https://bhajumahesh.com artist | comms & media specialist Mon, 26 Sep 2022 06:37:51 +0000 en-US hourly 1 https://wordpress.org/?v=6.6.2 https://bhajumahesh.com/wp-content/uploads/2024/06/cropped-BHAJUMAHESH.COM-800-1-32x32.png Personal Stories – MAHESH SHRESTHA https://bhajumahesh.com 32 32 183747163 बाबाचे, धागाे छाेड https://bhajumahesh.com/babache-dhago-chod/ https://bhajumahesh.com/babache-dhago-chod/#comments Sun, 25 Sep 2022 12:52:00 +0000 https://bhajumahesh.com/?p=715 “उ चेट, चेट, चङ्गा चेट ।” सुजन चङ्गाकाे पछि पछि कुद्न थाल्याे । म पनि उसकाे पछि पछि कुदे । चेट भएकाे चङ्गा हावाकाे बहावसँग जता जता बत्तिन्थ्याे हामी पनि त्यतै त्यतै हुत्तिन्थ्याैं । चङ्गा आकाशमा बत्तिरहेकाे हुँदा, त्यतै हेरेर कुद्दा, कहिले ठाेकिने, कहिले लड्ने हुन्थ्याे; त्यही पनि हामी चङ्गा हात पार्न कुदी नै रहेका
हुन्थ्याैं ।

अलि पर गाैरीघाट नजिकैकाे खेतमा चङ्गा झर्याे । चङ्गा झर्नु अघि नै त्यहाँ हामी जस्ता केटाकेटहीहरू हुल बाँधेर बसिसकेका रहेछन्, चेट भएकाे चङ्गा टिप्न । एउटा हाेचाे कद भएकाे केटाेले चङ्गा हात पारेछ । ‘याे चङ्गा मेराे हाे’, भनेर दाबी गर्न अरू चार पाँच जना केटाहरू पहिले नै त्यहाँ पुगिसकेका थिए । सुजन र म पनि त्यही भीडमा मिसियाैं । केटाहरू बिच चङ्गा तानातान हुन थाल्याे । चङ्गा च्यातिएर चङ्गाकाे कागज दुईजना केटाहरूका हातमा, चङ्गाकाे करङ सुजनकाे हातमा र धागाे भने मेराे हातमा पर्याे । सबै केटाहरूले केहीबेर एकअर्कालाइ हेराहेर गरे । अनि सबैले आकाशतिर हेरे । म हातमा धागाे बेर्न थाले । आकाशमा धेरै नै चङ्गाहरू उडिरहेका थिए । केही चङ्गाहरू जुध्दै थिए । अबकाे केही बेरमा अर्काे चङ्गा पनि चेट हुनेवाला थियाे । हामी सबै आशातित भई आकाशतिरै हेरिरह्याैं ।

वि. सं. २०५०-५२ तिरकाे कुरा । हामी काठमान्डूकाे कुमारीगाल, गाैरीघाट एरियामा बसाेबास गर्थ्याैं । बुबाआमाकाे भुत्ले क्याम्पस थियाे । त्याे बेला ऊनी धागाेकाे व्यवसायलाई भुत्ले क्याम्पस भन्थे । दुईवटा घरमा तल्लाे तलादेखि माथिल्लाे तलासम्मै चर्खा र फिर्के, ऊनका डल्ला र लाछीहरू यत्रतत्र छरिएका हुन्थे । हामीले लगाउने लुगामा ऊनकाे भुत्ला टाँसिएकाे त हुन्थ्याे नै, हामीले खाने खानामा समेत उनका रेसाहरू मिसिन्थे । अ, भुत्ले क्याम्पस माथि छुट्टै कथा अर्काे बेला लेखम्ला, सुनाम्ला ।

असाेज महिनाकाे पहिलाे हप्ता, पानी पर्न छाडेर आकाश निलै भएर खुलेकाे थियाे । गाैरीघाट आसपासका खेतहरू धानले पहेलै देखिएका थिए । कुमारीगाल अलि हाइटमा भएकाे हुँदा गाैरीघाटतिरका खेतका फाँटहरू धानकाे सिजनमा पहेलपुर र अन्य सिजनमा हरियाे देखिन्थ्याे । पछि ती फाँटमा फाट्टफुट्ट घरहरू फल्न थाले । अहिले त्यहाँ घरैघरै फलेका छन् । अन्न र तरकारी फलाउने ठाउँ कहाँ पाउनु !

एकदिन हाम्राे घर नजिकैकाे गल्लिमा जाेन र साेन एउटा सिलाैटा जस्ताे ढुङ्गा माथि अर्काे लाेहाेराे जस्ताे ढुङ्गाले केही पिँध्दै थिए । ‘चिरिक, चिरिक’ आवाज आउने, मसिनै हुने गरी सिसा पिँध्दै रहेछन् । जाेन र साेन दुइ जुम्ल्याहा दाजु भाइ थिए । हाम्राे भुत्ले कारखानाकाे छेवैमै उनीहरूकाे एकतले घर थियाे । उनीहरू हामी भन्दा अलि उमेरले ठूलै थिए । खासमा ती दुवै हाम्राे दाजुकाे साथी थिए । तर हामीहरूलाई पनि उनीहरूसँगै खेल्नवर्न समेट्थे । जाेनले मलाई देख्ना साथ, “ओइ, तसँग यस्ताे छ?”  भनेर साेध्याे । उसले भनेकाे यस्ताे, अरू केही नभएर ट्यवुलाइटकाे ट्युव थियाे । मैले ‘छैन’ भनेर मुन्टाे हल्लाए । साेनले थप्दै भन्याे, “छ हाेला । जा त हेर् ।” म ‘हुन्छ’ भनेर टाउकाे हल्लाउँदै घरतिर लागे ।

खासमा उनीहरू धागाेलाई धारिलाे बनाउने माझामा मिसाउन सिसा पिँध्दै रहेछन्, जसलाइ ‘खाँची’ भनिन्थ्याे । साबुदाना, पिठाे, अनि खाँचीलाई राम्राेसँग पकाएर माडजस्ताे बाक्लाे माझा बनाइन्थ्याे । त्यसरी बनाएकाे माझा धागाेमा दलिन्थ्याे । जाेन साेन दाइहरूका घरकाे छतमा पिलरकाे रड निस्किएकाे थियाे । साेही रडहरूका वरिपरि घुमाएर धागो बेर्दै माझा दलिन्थ्याे । यसरी माझा दल्दा कतिपटक हात चिरिने, काटिने हुन्थ्याे । माझा दलेपछि केही बेर धागाे सुक्नका लागि त्यतिकै छाडिन्थ्याे । यसरी माझा दलेकाे धागो बलियो र धारिलो हुन्थ्यो । जसले गर्दा अरूका चङ्गा चेट गराउन सजिलाे हुन्थ्यो । जसकाे धागाे धारिलाे छ, उसले धेरै चङ्गा चेट गराउन सक्थ्याे । जाेन, साेन र चाके दाइहरू हाम्राे टाेलकाे नामुद चङ्गा उडाउनेहरूमा पर्थे । चाके दाइ अर्थात् मेराे दाइकाे अर्काे साथी । उनकाे खास नाम कुमार हाे तर उनले लागू औषध सेवन गरी गरी ज्यान सुकाइसकेका थिए । उनकाे जीउ यतिसम्म सुकेकाे थियाे की, लगाएकाे प्यान्ट पनि कम्मरमा नअडिने, फुस्कीरहने, अनि उ हातले माथि तानी रहने; त्यही भएर उनका साथीहरूले उसकाे नाम ‘चाके’ राखिदिएका थिए ।

नीलाे आकाशमा थरिथरिका चङ्गाहरू उडिरहेकाे देख्दा दसैँ आउँदैछ भन्ने भेउ पाइन्थ्याे । चङ्गा चेट भएकाे बेला चङ्गा टिप्न धान खेतै खेत कुदेर गाैरीघाट र बागमतीसम्म पुग्नु हाम्राे दिनचर्या भैसकेकाे थियाे । त्यही भएर हाम्राे ध्यान भुँइतिर कम आकाशतिर बढी हुन्थ्याे । बाबाचे, तीन धर्के, राते, पहेले, जस्ता चङ्गाका नामहरू हुन्थे । चङ्गा उडाउने व्यक्ति काे हाे भनेर नचिनेता पनि चङ्गा हेरी, साेकाे आधारमा चङ्गा उडाउनेलाई बाेलाइन्थ्याे । जाेनले आकाशमा उडिरहेकाे बाबाचे चङ्गालाई इङ्गित गर्दै, “बाबाचे, धागाे छाेड । ए, बाबाचे, छाेड, धागाे छाेड ।” भन्दै, कराउँदै थियाे । उसले भने तीन धर्के चङ्गा उडाइरहेकाे थियाे । म पनि उसँगै स्वरमा स्वर मिलाउँदै, “बाबाचे, धागाे छाेड । धागाे नभए टुप्पी जाेड ।” भन्दै कराउँथे । यसरी कराउँदै उफ्रनुकाे मजा नै अर्कै हुन्थ्याे । केही बेरमै बाबाचेवाला चङ्गाकाे धागाे छुट्दै गयाे । मैजुबहालबाट उडेकाे चङ्गा बिस्तारै गाैरीघाटसम्मै आइपुग्याे । जाेनले लट्टाई हल्लाई हल्लाई घुमाउन थाल्याे । उसले पनि धागाे छाेड्दा बजेकाे लट्टाइकाे ‘प्याटर प्याटर’ आवाजले अब केही बेरमा बाबाचे र तीन धर्के जुध्नेवाला छ भनेर भेउ पाउन सकिन्थ्याे । सुजन र म चङ्गा टिप्न जान रेडी भएर बसेका थियाैं । सुजनले पनि आफूसँग भएकाे गाेल्टिनकाे लट्टाई मलाई देखायाे । त्याेबेला चङ्गा, लट्टाई, धागाे र माझा किन्नु जाे काेहीकाे बुताले भ्याउँदैनथ्याे । चङ्गा वा लट्टाई किन्न चावहिलकाे गणेशथान या त महाबाैद्धसम्मै पुग्नुपर्थ्याे । त्यही भएर, जुगाड सामानहरू प्रयाेग गरी लट्टाई बनाईन्थ्याे र चेट भएकाे चङ्गा बटुलेर उडाइन्थ्याे । धागाे भने त्यही चेट भएर आएकाे चङ्गासँगै चुडिएर आएका रहल पहल धागाेहरू गाँसेर लामाे बनाइन्थ्याे । लट्टाई बनाउन त्याे बेला पाउडर दुध प्याक भएर आउने टीनकाे बट्टालाई बढी जसाे प्रयाेगमा ल्याइन्थ्याे । हामी त्यसलाई ‘गाेल्टिन’ पनि भन्ने गर्दथ्याैं । गाेल्टिनकाे दुवै छेउमा प्वाल बनाएर बाँसकाे कप्टेराे घुसाएर बनाएकाे लट्टाईकाे आवाज अर्कै आउथ्याे ।

एकदिन चेट भएकाे चङ्गा लिन दाैडने क्रममा घरकाे छतबाट लडेर सुजनकाे खुट्टा भाँचियाे । उता सुजनकाे खुट्टा भाँचियाे, यता केही दिन म नजरबन्दमा परे । बुबा आमाले मलाई लगभग एक हप्तासम्म घरबाट बाहिर निस्कनै दिएनन् । बिहान स्कूल जाने, स्कूलबाट फर्कनासाथ घरमा बसेर पढ्ने बाहेक अरू काम भएन । बाहिर, बेला बेलामा मेरा अन्य साथीहरू कराएकाे, चिच्याएकाे सुन्थे । छिमेकमा जाेन-साेन दाइ पनि आफ्नाे छतमा निस्किएर ‘बाबाचे धागाे छाेड’ भन्दै कराउँदै थिए । म भने यता काेठाभित्रै बसेर,  “बाबाचे धागाे छाेड । धागाे नभए टुप्पी जाेड ।” भन्दै चिच्याउँदै थिए ।

***

असाेज, २०७९ । अझै पानी परि नै रहेकाे छ । आकाश अझै खुलेकाे छैन । बेला बेला खुलेकाे आकाशतिर हेर्छु; अह एउटा पनि चङ्गा देख्दिन ! घरैघरले भरिएकाे शहरका छतहरूमा निस्केर चङ्गा उडाउनेहरू आफै चङ्गा झै उडेर कतै हराए की, या चङ्गा उडाउने चलन नै बिलायाे की ? म साेच्दै एकछिन यत्तिकै टाेलाउँछु ।

Featured Photo Credit
"Kiterunners" by Fotovijver.nl is licensed under CC BY-NC-ND 2.0.
]]>
https://bhajumahesh.com/babache-dhago-chod/feed/ 2 715
अङ्गुरी बदन https://bhajumahesh.com/anguri-badan/ https://bhajumahesh.com/anguri-badan/#comments Tue, 03 Aug 2021 06:03:57 +0000 https://bhajumahesh.com/?p=626 Read More]]> मितिः वि. सं. २०६४, महिना एकिन भएन
स्थानः पशुपत्ति मन्दिरको गौशालातिरको क्षेत्र
समयः बिहानकाे ८ बजेतिर

पशुपत्तिको पछाडीपट्टीको भाग, अर्थात् लास जलाउने क्षेत्रतिरबाट हातमा एकजोर जुत्ता बोकेर कुद्दै गौशालातिर जाँदैछु, म ।
मेरो पछि पछि एकजना मान्छे, “चोर चोर, समात् चोर, मेरो जुत्ता चोर्ने, चोर ।” भन्दै कराउँदै मेरै पछि पछि आउँदैछ ।
मन्दिर दर्शन गरेर आउँदै गरेका र मन्दिर दर्शन गर्न जाँदै गरेका छेउछाउका मान्छेहरुले मतिर हेर्न थाले । म अगाडि दौडने क्रममा पछाडि मेरो पछि-पछि कुद्दै आएको मान्छेलाई हेर्दै थिए । अघिसम्म उनी एक्लै थिए । अहिले त उनीसँगै दौडेर मेरै पछि-पछि आउने पाँच-दश जना थपिइसकेछन् । म कुदेर, भाग्दै गौशालातिरको भागमा आइपुग्न लाग्दा एकजना सज्जनले च्याप्प मेरो कठालो समाए । उनी छोरीलाई स्कूल पुर्याउन जान लागेका रैछन् । उनको छोरीतिर मैले पुलुक्क हेरे । छोरी आत्तिएर रुन थालिसकेकी थिइन् । मेरो पछि-पछि मलाई लखेट्दै आएका एक हुलले, “साला चोर । अर्काको जुत्ता चोर्छस् ।” भन्दै गोदुला झैं गरे । एकजनाले त मेरो हातमा भएको जुत्ता फुत्त तानेर पहिलो व्यक्तिलाई दिँदै, “यी लिनुस् तपाईको जुत्ता ।” भनेर दिए । मलाई कठालो समाउने व्यक्ति भने मेरो कठालो बेलाबेलामा हल्लाई नै रहेका थिए । उनको छोरी मलाई र उनलाई हेरी रोई नै रहेकी थिइन् ।

एकैछिनमा वरपर भएका अन्य व्यक्तिहरूले, “छातिमा मेरो, यो छोटो भोटो” भन्ने गीत तालि पिट्दै गाउन थाले । एकजनाले मादल बजाए; अर्कोले खैजडी । गीत गुँन्जदै गयो । म पनि उनीहरूसँगै तालमा ताल मिलाएर सोही गीत गाउन थाले । मेरो कठालो समाउने व्यक्ति वरपर हेरेर अकमक्क परे । रुँदै गरेकी उनकी छोरी नि चुप लागिन् । जुत्ता चोरिएको व्यक्ति पनि हाँस्दै भिडको बिचमा गएर, हातमा उही जुत्ता झुण्डाएर उद्घोष गर्न थाल्यो, “नमस्कार, आदरणीय दर्शकहरू । हामी मण्डपिका कला समूहबाट एउटा कचहरी नाटक लिएर यहाँहरू सामू भेला भएका छौं । हामी केहीबेरमा नै नाटक सुरु गर्दछौं । आशा छ त्यतिन्जेलसम्म यहाँहरू सबै हामीसँगै जोडिएर रहनु हुनेछ । धन्यवाद ।” यति भन्दै उनी, उनी अर्थात् जसको जुत्ता चोरिएको हो, जसको जुत्ता चारिएको हो अर्थात् रामबाबु रेग्मी । रामबाबु पनि हाम्रै सगोलमा आएकार नाच्न थाले । वरपरका मान्छेहरू गलल हाँस्न थाले । मेरो कठालो समाउने व्यक्ति नमज्जा मान्दै मलाई हेरेर, “सरी, है, सरी ।” भन्न थाले । मैले, “हैन, त्यस्तो केही मान्नु पर्दैन । यो हाम्रो नाटककै भाग थियो । हामी नाटक सुरु गर्नु अघि दर्शकहरूका ध्यान आकर्षित गर्न यस्ता हर्कतहरू गर्ने गर्छौं ।”

हजुर, सडक नाटक, कचहरी नाटक वा खुल्ला स्थानमा गरिने कुनै पनि विधाका नाटक गर्नु अघि यस्ता हर्कत गर्नुलाई हामीले ‘अङ्गुरी बदन’ नाम दिएका थियौं । हामी अर्थात् गंगा उर्फ विकास तिवारी र मैले । अङ्गुरी बदन, हिन्दी कथानक चलचत्रि जानवरको एउटा आइटम गीत वा नाच ‘छमक छम छम्के अङ्गुरी बदन…’ बाट लिइएको शब्द हाे । जसमा उबेलाका चर्चित नायिका करिश्मा कपुरको नृत्य रहेको छ भने, गीतलाई सपना अवस्थीले गाएकी हुन् । खै, कसरी फुर्यो यो शब्दावली थाहा छैन । एकदिन यसरी नै नाटकको प्रारम्भमा गीत गाउँनका लागि खैजडी झिक्दै गंगाले भन्यो, “आउँ माइला, अङ्गुरी बदन देखाउन जाऔं ।” उसले भनेको अङ्गुरी बदन शब्दावलीले मलाई मज्जाले छोयो । हो, त, हामीले गर्ने यो काम अङ्गुरी बदन वा कुनै आइटम नाच भन्दा कम कहाँ थियो र! जसरी चलचित्र चलाउन त्योबेला एउटा न एउटा आइटम गीत वा नाच राखिन्थ्यो; हुन त अहिले पनि यो क्रम जारी छ; त्यसरी नै हामीले हाम्रा नाटक हेर्ने दर्शकको ध्यान तान्न नाटक अघि कुनै न कुनै हर्कत वा इम्प्रोभाईजेसन (तत्काल अवस्था हेरी सृजना गरि गरिने अभिनय, जसलाई आँशु रचना पनि भन्ने गरिन्छ) गर्ने गर्दथ्यौं । खुल्ला स्थानमा गरिने नाटकमा पहिले नै बोलाइएका दर्शकहरू छन् भने यस्ता हर्कत गरिरहन पर्दैन तर दर्शक पहिले नै घोषित नभएका स्थानहरूमा भने अङ्गुरी बदनको जरुरत हुन्थ्यो । यसरी अङ्गुरी बदन देखाउँदै हामी काठमाडाैंका गल्लि-गल्लि मात्र हैन, नेपालका विभिन्न कुना काप्चामा समेत पुग्ने गर्दथ्यौं । ठाउँ र परिवेश हेरी अङ्गुरी बदनको ढाँचा, स्वरूप र भाषा भने फरक हुने गर्दथ्यो ।

म, तपाईंहरुलाई केही मेरा जिवनका अङ्गुरी बदन अनुभवहरू पस्कँदै जानेछु । मनपरेमा लाइक, कमेन्ट र शेयर गर्नु कन्जुसाई नगर्नुहोला । भेटेको बेला अङ्गुरी बदन देखाउन तयार छुँ ? ।

क्रमशः

तस्विरः कचहरी नाटक 'मधेश तराई'काे एक दृष्मा अभिनय गर्दै सीतामाया श्रेष्ठ (बायाँ) र महेश श्रेष्ठ (दायाँ) । साङ्केतिक तस्विरका रूपमा प्रयाेग गरिएकाे । यस नाटक अघि पनि विभिन्न स्थाहरूमा हामीले अङ्गुरी बदन प्रस्तुत गरेका थियाैं । तस्विर साभारः शिल्पी कला समूह
]]>
https://bhajumahesh.com/anguri-badan/feed/ 6 626
नारन काकाको सम्झनामा https://bhajumahesh.com/naran-kakako-samjhanama/ https://bhajumahesh.com/naran-kakako-samjhanama/#respond Sat, 24 Oct 2020 15:34:14 +0000 https://bhajumahesh.com/?p=449 Read More]]> मोवाइल फोन अनलक गरे । देखे दुईवटा मिसकल । भाइ सन्तोषको रहेछ । तुरुन्त कलब्याक गरे ।

रिङ् गयो । उसले उताबाट फोन उठाउनासाथ मैले भने ‘अ, भन् ।”

‘तैले, एउटा खवर था‘पाइस ?” सन्तोषले उत्सुकता साथ मलाई सोध्यो ।

‘अह, था‘पाइन त !” मैले केही थाहा नपाए झै भने । हुन पनि मलाई त्यल्ले भन्न आटेको खबरको बारेमा के था ?

‘नारन काका त गएछन् !” सन्तोषले अलि भावुव हुँदै भन्यो ।

‘ए ! कैले ?” म पनि छक्क परे । मैले थाहा पाईहाले, नारन काका काँ गएका हुन् भनेर । परलोक ! एकदिन सवैले जानै पर्नै ठाउँ ।

बुढा ! बिचरा नारन काका ! अलि बर्ष अघिदेखि नै तिनी बिरामी थिए । गएको साल पत्ता लागेछ, कि तिनलाई त टिवी भएको रहेछ ।

पाँच महिना मात्र भएको थियो नजिकैको भिमान स्वास्थ्य चौकीबाट निःशुल्क डट्स लिदैंथे क्यार !


‘हजारको देखेर नोट पनि, चिल्लो भयो नारन, साउनीको ओठ पनि !” मिठो भाका हालेर यो गीत गाउँथे नारन काका, आफ्नो नियमित दैनिकी बित्ने साइलीको भट्टिमा । पाँच रूपैँयाको नोट साउनीलाई देखाउँदै उनी यही गीत बारम्बार गाउने गर्दथे । ‘हजारको देखेर नोट पनि…”

साउनी पनि के कम ‘अ, यो नारन बजिया ! हजार र पाँच रुपैँयाको नोट पनि चिन्दैन भन्ठान्दो हो !”

नारन काका साउनीको त्यो बचनले खिस्रिक्क पर्थे, अनि भन्थे ‘हजार हैन त हामीलाई पनि था‘छ नि । त्यै पाँच रुपियाँको भए पनि देउ न त, एक गिलास ।” चाउरी परेका गाला । गुन्द्रुके कपाल । दुव्लो–पातलो ज्यान । हरबखत धोती बेर्ने अनि मैलो सर्ट भिरेका, यी बुढा नारन काकाका खुट्टामा कहिले काँही हुन्थे हात्ति छाप चप्पल । तर प्रायजसो उनका ती खुट्टाहरू नाङ्गै हुनेगर्थ्याे ।

त्यसबखत गाउँमा हल्ला चलेको थियो कि नारनलाई सुँघ्ने बित्तिकै लाग्छ भनेर । हुन पनि हो । बिहानपख सद्धे डाँडा लागेका बुढा आधा–एक घण्टामा ‘हजारको…” गीत गाउँदै वल्लो भित्ता र पल्लो भित्ता गर्दै आइपुग्थे । घर पुग्नासाथ नारन काका र काकीको महाभारत शुरु हुन्थ्यो ।

मैले पढ्ने स्कूल नारन काकाको घर नजिकै पर्थ्याे । स्कूल जाने बेला जहिले पनि बाटामा एक न एक थोक बज्रिएकै हुन्थ्यो । कहिले कुचो, कहिले सिलावरको थाल त कहिले बुढाको धोती, बाटामा आइपुग्थ्यो । स्कूल आएका केटाकेटीहरूको त्याँ जमात लाग्थ्यो उनीहरूका चर्तिकला हेर्नका लागि ।

नारन काकाले च्याँठिदै ठूलो स्वरमा ‘तिमीहरूलाई त…!” भनेर चिच्याए पछि, केटाकेटीहरूको भागाभाग हुन्थ्यो । कति त डरले ती लड्थे । कोही कट्टु समाउँदै पाखा लाग्थे । उनी घरमा नानाभाती फलाकेको, स्कूलका कक्षा कोठा–कोठामा सुनिन्थ्यो ।

स्कूलका शिक्षक–शिक्षिकाहरूले पनि नारन काकालाई बेला–बेलामा सम्झाउने गर्थे । सम्झाउँन्जेलसम्म असल बालकले झैं मुण्टो झुकाएर उनीहरूको कुरा बडो ध्यान पूर्वक सुने झैं, हो होमा हो मिलाउँथे र ती शिक्षक–शिक्षिकाहरू आफ्नो बाटो लागेपछि, सनक्क सन्कदै तिनी भन्थे ‘तिम्रा बाउँका…खाइद्या छैन क्यार !”


‘हे आमा ! नारनको…!” नारन काकाको अर्को भाका थियो यो । ‘हे आमा ! नारनको…!”

उनको यो भाका भने अलि मर्मस्पर्शी हुन्थ्यो । यो भाका सुनेपछि पत्ता लाग्थ्यो कि आज नारन काका पक्कै पनि पीरमा परेका छन् वा कुनै गहिराे पीडामा छन् अथवा उनले कसैको झपार खाएका छन् । घरमा बुढीसँग झगडा गरेर बसेका दिन पनि दिनभर उनी यही गीत गाउँदै बस्थे ‘हे आमा”

‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी !” यो उनलाई कसैले नपत्याएको बखत गाउँने अर्को घतलाग्दो भाका थियो । तर उनको हातमा पाँचको नोट पर्नासाथा अनुहारको चमक नै फेरिन्थ्यो र सुरु हुन्थ्यो ‘हजारको देखेर नोट पनि…’

गाउँमा शहरबाट कोही आएको थाहा पाउनासाथ तिनको अगाडि थोते दाँत फिस्स पार्दै पुगिहाल्थे हात फिँजाउन । अनि भन्थे ‘टेन रुपिज, प्लिज !’

उनले एक अक्षर पनि पढेका छैनन् रे, मेरा बुबा भन्ने गर्नुहुन्थ्यो । तर जाँड–रक्सीले मातेको बेला उनी खर्रर्र अँग्रेजी मिसाइ–मिसाई बोल्थे । म तीन छक्क पर्थै–हैन एक अक्षर पनि नपढेका मान्छेले यति मज्जासँग कसरी अँग्रेजी बोलेको होला !

‘ह्वाट इज दिस…हुचुकु प्यामे !’ यो ‘हुचुकु प्यामे’ को अर्थ के हो यो त तिनलाई पनि थाहा थिएन तर उनको मुखमा झुण्डिसकेको थेगो जस्तै भैसकेको थियो यो, ‘हुचुकु प्यामे’ । उनको दिमागमा एक किसिमको मज्जाको भ्रम थियो कि, शहरबाट आउनेहरूसँग टन्न पैंसा हुन्छ र तिनले मागेका जत्ति दिन्छन् रक्सी खानलाई । अझ शहरबाट आउनेहरूसँगको उनको फर्माइस ‘लोकल’ हुन्नथ्यो, ‘बिदेशी’ हुन्थ्यो र भन्थे ‘नो, नो लोकल…सिलप्याक..सिलप्याक ।’ शहरबाट आएकाहरूमा कोही कोही त पैसावाला नै हुन्थे । तिनीहरूले भने नारन काकाको फर्माइस पुरा गर्नसक्थे । तर बिचरा ती मजस्ता बिद्यार्थीहरू भने बेला–बेलामा मर्कामा पर्थे । माया लाग्थ्यो तिनको चाउरी परिसकेका अनुहारले, थोते दाँत देखाइ फिस्स हाँस्दा अनि दिने गर्थे म पनि ‘सय–पचास’ ।

बिशेष गरी दशैंका बेलामा नारन काकालाई भने वास्तवमै दशैं आउँथ्यो । दशैंको बेलामा शहरमा रहेका र विदेशबाट फर्किएका गाउँलेहरूले दिएका पैंसाहरूले नारन काकाको धोतीको पोल्टा भरिन्थ्यो । उनको भुँइमा खट्टा हुन्नथ्यो, त्यो बेला । उनी आफूलाई गाउँकै धनी सम्झन्थे । बिहानदेखि डाडाँमा उक्लिएका नारन काकाको फिर्ती सवारी राती सवैजना सुतिसके पछि हुन्थ्यो । उनी कराएको परैबाट प्रस्ट सुनिन्थ्यो । त्योबेला उनको मुखबाट नेपाली–अँग्रेजी र अन्य–अन्य उनका आफ्नै शव्द–सागरहरूले भरिएका मानसपटलबाट विभिन्न आवाज र शव्दहरू बाहिर भुटिएका हुन्थे, मकै भुटेझैं । र घर पुग्नासाथ सुरु हुन्थ्यो क्रमशः रहेको महाभारतको बाँकी भाग । नारन काकीदेखि लिएर उनका छोरा–छोरीले समेत तिनलाई कुट्ने र नानाभाती गालि गर्ने गर्दथे । उनी डाँको छोडेर रोएको मेरो कानले सहन सक्दैनथ्यो । निदाइसकेको म पनि बिउझने गर्दथे, झल्यास्स् उनको रोदन सुनेर । सुन्थे र सुनिरहन्थे । र त्यहाँको हल्ला कम भए पछि, पानी पिएर घुप्लुक्क सुत्थे ।


जाँड–रक्सी नछोएको दिनका कुरा बेग्लै हुन्थे नारन काकाका । उनको रूप नै फेरिएको हुन्थ्यो । उनी सारै भद्रभलाद्मी झै हिंड्ने र कुरा गर्ने गर्थे । मेरा बुबा भन्ने गर्नहुन्थ्यो ‘यो नारन बजिया, जाँड खाँदा मात्र हो त्यस्तो । नखाँदा त भद्र छ नि गधा!’

उनी जवान छँदा त निक्कै हट्टाकट्टा र फुर्तिला थिए अरे । कत्रा–कत्रा काठका खावा जङ्गलदेखि एकैजनाले जुरुक्क बोकेर, फननन घर ल्याइपुर्याउँथे रे । खेतिपातीमा पनि उतिकै सिपालु थिए रे तिनी । गाउँमा काम–कर्म केही गर्नु पर्यो की सबैले नारनलाई नै खोज्ने गर्थे रे । सबैका प्यारा थिए नारन काका ।

तर, रक्सी उनको मुखमा परेको दिनको त कुरै नगरौं !

पछिल्लो समय, यसपटकको दशैंमा उनलाई देखेर मेरो मन साह्रै कुडिएको थियो । झन् झन् दुव्लाएर, हड्डि मात्र पो देखिन्थ्यो उनको ज्यानमा । तर उनको त्यो चाहुरी परेको अनुहारले थोते दाँत देखाइ हाँस्ने बानी भने जस्ताको तस्तै रहेछ ।

म छक्क परे । यसपालि त उनले ‘गिभ मि टेन रुपिज’ भनेर हात पनि पो पसारेनन् । केही दिन गाउँमा बस्दा उनको आवाज पनि सुन्न पाईन । मैले बुबाकै मुखबाट सुने, उनलाई टिवी भएको छ रे । ‘अचेल जाँड–रक्सी केही पनि छुँदैन । साधु भएको छ मोरो ।’ बुबा भन्दै हुनुहुन्थ्यो । ‘भिमानबाट डट्स ल्याएर खादैछ । खै, निको हुन्छ त होला नि!’

मलाई नारन काकालाई टिवी भएको छ भन्नासाथ एकदिनको याद आयो । एकदिन गाउँमा खै कस्ले हो टि.भी. ल्याएका थिए । नारन काकाले पनि थाहा पाएछन्, टि.भी. ल्याएको कुरा । ‘पैसा हुनेले ल्याउँछन् नी टि.भी. । आफ्नो त ज्यान मै छ टिवी, किन चाहियो र टि.भी.!’ उनी सबैलाई यसै भन्दै, सुनाउँदै हिड्थे । ‘यी, अनि यो चाँहि मेरो एन्टेना !’ उनी आफ्नो टुप्पी तनक्क तानेर देखाउँथे । तर उनले यसो भन्न थालेको मैले आठ कक्षा पढ्दादेखि नै हो अर्थात् उनलाई वास्तवमै टिवी भएको छ–सात बर्ष पहिले । तर आज उनी भोग्दै थिए वास्तविक टिवी हुनुको पीडा ।

सधैं हल्ला खल्ला गरेर गाउँ नै थर्काउने नारन काकाको अस्ताउँदो स्वरूप देखेर साह्रै नै माया लाग्यो मलाई । उनको हल्ला नसुनिएर पनि होला पूरै गाउँ नै शून्य थियो ।

बिहान लुसुक्क हात पछाडी बाँधेर डाँडा लाग्थे अनि दिनभर त्यही डाँडाको प्रतिक्षालयमा दुनियाँका नानाभाती कुराहरू सुनेर साँझपख फेरि त्यसरी नै ओरालो झर्थे । अब, यो नै उनको दिनचर्या भईसकेको थियो । पहिले उनी आएको र गएको पनि परैबाट थाहा हुन्थ्यो तर अब त…

उनी पारीपट्टी अस्ताउन थालेको सूर्यलाई हेर्दै के–के, के–के कल्पन्थे–सायद कल्पन्थे, एकदिन यो सूर्य झैं मेरो पनि जीवनको सूर्य सदाका लागि यसरी नै अस्ताउने छ !


‘ए, कहिले गएछन् त बुढा ?!’ म अक्क न बक्क परे ।

‘हिजो दिउँसो ३ बजेतिर, सुतेकै ठाउँमा ज्यान छाडेछन् !’ सन्तोषले वाक्य टुङ्ग्यायो ।

बिचरा नारन काका! धन्न सुतेकै ठाउँमा सुखद् मृत्यु अँगालेछौ!

मलाई तिनका चाउरीएका अनुहार, ती थोते दाँत, तिनका निरन्तर गाइरहने भाका, तिनको ज्यान खर्रर याद आयो । पूर्वस्मृती भयो । फ्ल्यासब्याक!

यसपालिको दशैंमा तिमी थियौं र त शुन्य लाग्यो, अब त तिमी नै रहेनौ नारन काका, अझ झन् कति शुन्य हुने हो है त्यो चुरे डाँडा ।

शुभ विदाइ, काका!


भाजु महेश, २०६६ मङ्शिर, कालिमाटी चोक, पोखरा

Photo Credit:
Plowing the field. Photo: Sajal Sthapit/Ecoagriculture Partners, Flickr

]]>
https://bhajumahesh.com/naran-kakako-samjhanama/feed/ 0 449
सर्ट फिल्म? https://bhajumahesh.com/shortfilm/ https://bhajumahesh.com/shortfilm/#respond Sun, 11 Oct 2020 07:24:42 +0000 https://bhajumahesh.com/?p=360 Read More]]> “नियमित जबबाहेक अरु के गर्दै हुनुहुन्छ ?” एकजना परममित्रले सोधे ।

“सिर्जनात्मक काम नगरेको धेरै भयो, त्यही भएर एउटा फिलिम गर्दैछु,” मैले भनें ।

“ओहो, फिलिम ? कस्तो फिलिम नि ?” उनले जिज्ञासु हुँदै भने ।

मैले भनें, “सामान्य हो । एउटा सर्ट फिलिम गर्दैछु ।”

यति भन्नासाथ उनले रंगिला नजर लाउँदै भने, “ओहो सर्ट फिलिम ? लु गज्जब । मलाई नि मनपर्छ त्यस्तो सर्ट फिलिम । बिहानै २–३ वटा हेरिन्छ । अनि फ्रेस भइन्छ ।”

मैले उनको कुरा बुझिहालें । र, हत्तपत्त उनलाई सम्झाउँदै भने, “हैन हैन ! मैले बनाउन लागेको फिलिम त्यस्तो हैन । अभ्यास नि हुँदै जान्छ भनेर यो काम गर्न लागेको हुँ । तपाईंले खोजेजस्तो खुराक शायद यसमा पाउनुहुन्न ।”

उनी फिस्स हाँसे मात्र ।

० ० ०

भोलिपल्ट हाम्रो सर्टफिल्मको सदस्य अम्बरसँग भेट भयो । मैले हाम्रो फिल्मका लागि तयार गर्दै गरेको स्टोरी बोर्डका स्केच देखाएँ । ऊ स्केचहरू देखेर दंग पर्यो । हेरिसकेर भन्यो, “मलाई पनि आज एकजना दाइले इटहरीबाट फोन गर्नुभएको थियो । त्यो अस्ति तपाईले फेसबुकमा पोस्ट गर्नुभएको पोस्टर हेरेर फोन गर्नुभा रै’छ !”

“ए हो र ? के भन्नुभयो त दाइले ?” मैले उत्सुक हुँदै सोधें ।

“भाइले फिलिम गर्दै रै’छौ । कस्तो फिल्म हो, के फिल्म हो भनेर सोध्नुभो । मैले सर्ट मुभी हो दाइ भनें । उहाँले हत्तपत्त ‘युट्युबको लागि हो ?’ भनेर सोध्नुभो । मैले, ‘अँ ऽऽ पछि युट्युबमा नि आउँछ’ भनें । उहाँले पनि तपाईंको साथीले झैं रंगिला प्रश्नहरू गर्नुभो । उहाँलाई बुझाउन मलाई हम्मेहम्मे भयो ।”

अम्बरले यति भनेपछि दुवै हाँस्यौं !

० ० ०

सर्ट फिल्म ?

हो सर्ट फिल्म । अर्थात् लघु चलचित्र वा छोटो समयावधिको चलचित्र । ४० मिनेटसम्म वा सोभन्दा कम समयावधिको चलचित्रलार्इ सर्ट फिल्म भनी परिभाषित गरिएको छ । ४० मिनेटभन्दा माथिको चलचित्रलाई फिचर लेन्थ भन्ने गरिन्छ, जुन हलहरूमा चल्छन्, लाग्छन् वा प्रदर्शन हुन्छन् ।

सर्ट फिल्महरू चलचित्र क्षेत्रमा पछि निर्देशकका रूपमा वा चलचित्रकर्मीका रूपमा करिअर बनाउन चाहनेहरूले अभ्यास गर्ने विधा हो । यी चलचित्रहरू विशेष प्रदर्शनीका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी गराउनका लागि पनि निर्माण गरिन्छ । यस्ता चलचित्र स्वतन्त्र चलचित्रकर्मीले आफूजस्तै मन मिल्ने टोलीसँग मिलेर न्यून खर्च लाग्ने गरी वा कुनै पनि खर्च नलाग्ने गरी बनाउँछन् । यस्ता चलचित्रले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागी भई ख्याति कमाएमा वा कुनै निर्माताको ध्यान तान्न सकेमा पछि फिचर लेन्थको चलचित्रका लागि लगानी पाउन सक्ने सम्भावना पनि हुन्छ । नत्र यति पनि नभए एउटा चलचित्र बनाउन रूचाउने व्यक्तिलाई राम्रो अभ्यास भने हुन्छ । भलै पहिलेजतिको ख्याति अहिले छैन ।

० ० ०

सर्ट फिल्म ?

हो सर्ट फिल्म !

अर्थात् अचेल युट्युबमा बऽऽऽबाल चल्ने जस्तो सर्ट एन्ड सेक्सी फिल्म ?

हो या होइन ?

० ० ०

हालै केही साथीहरूले सामाजिक सञ्जालमार्फत सर्ट एन्ड सेक्सी (यहाँ सेक्सी भन्नाले छाडा वा अश्लील भनेर बुझौं) फिल्मविरूद्ध एउटा अभियानै चलाएका छन् ।

“तपाईंलाई कुरा ठीक लाग्यो भने सेयर गर्नुहोस् र कम्प्लेन गर्न सघाउनुहोस् । Nepali Short Movie को नाममा युट्युब छाडा सामग्रीले भरिँदैछ । छोटो समयमा धेरै दर्शक बटुलेर मनग्य पैसा उठाउने खेलमा यस्तो हुँदैछ । यसले नेपालभित्र मात्र नभई विश्वमै नेपाली चलचित्रप्रतिको इमेज बिगार्दैछ । लौ न केही गरौं ।”

माथिको स्टाटस वा पोस्ट अचेल फेसबुक वा ट्विटरका टाइमलाइनमा चर्चित बनेको छ । चाँडै चर्चामा आउन र मनीटाइज (युट्युबमा यो सुविधाअन्तर्गत रेभेन्यूबापत पैसा आउने प्रबन्ध छ) गरी डलर कमाउने प्रलोभनमा अहिले जोकोहीले पनि यस्ता सर्ट फिल्म बनाउने अनि आफ्नै युट्युब च्यानल खोली अनलाइन टिभीका नाममा विकृति भित्र्याइरहेका छन् । यस्ता नेपाली सर्ट फिल्महरू नेपाललगायत विदेशका विभिन्न सहरमा बनिरहेका छन् । युट्युबमा च्यानलहरू पनि दिनप्रतिदिन बढ्दैछन् । युट्युब लगइन गर्नासाथ यस्ता भिडियोहरू ह्वारह्वार्ती ओइरिन्छन् ।

यसले सर्ट फिल्म विधाकै बदनाम त गरिरहेको छ नै, नेपालभित्र मात्र नभई विश्वमै नेपाली चलचित्रको छवि धमिलिँदै गएको छ । त्यसैले पनि युवा पुस्ताले कस्तो सर्ट फिल्म बनाउने, हेर्ने वा प्रवर्द्धन गर्ने भनी सोच्नैपर्ने बेला आएको छ ।

सर्ट फिल्म ?

हो सर्ट फिल्म !

शुभम् ।

० ० ०
Originally published in ‘Baahrakhari.com‘ on २०७३ असार २५, शनिबार

]]>
https://bhajumahesh.com/shortfilm/feed/ 0 360
टोकन नं १४०९ https://bhajumahesh.com/token-no-1409/ https://bhajumahesh.com/token-no-1409/#respond Thu, 08 Oct 2020 10:21:12 +0000 https://bhajumahesh.com/?p=155 Read More]]> २०७० मंशिर १९ गते, मंगलबार

‘सेवाग्राहीहरूको अत्याधिक चापलाई मध्यनजर गर्दै, द्रुत सेवा मार्फत् वितरण गरिने राहदानीको फारम बुझाउने टोकन विहान ८ बजेदेखि दिइन्छ ।’

मैले परराष्ट्र मन्त्रालयको वेबसाइटमा यस्तै सूचना पढेको थिए । मेरो दिमागमा त्यही कुरा थियो ।

सोचे करिव एक घण्टा अगाडि पुगे भने पनि त ठिकै होला ।
मंगलबार, सधै उठ्ने समयभन्दा केही अघि नै उठे । करिव ७ बजेतिर म तत्कालिन नारायणहिटी दरबार र हालको परराष्ट्र मन्त्रालय भएको भवन नजिकै पुगे । आम्मामा ! कति धेरै मान्छेको भीड!

परराष्ट्र मन्त्रालयको परिसर वरपर टन्नै मान्छेहरू छरिएका थिए । पारिपट्टि रहेको केशर महल बाहिर र ठमेल जाने बाटो आसपासमा समेत मानिसहरूको भीड बाक्लै थियो । म त एकछिन त्यही भुलभूलैयामा परे । मानिसहरूको चहलपहल र भीड हेर्नमै व्यस्त भए, केहीबेर । ती भीडहरूमा प्राय जसो युवाहरू थिए ।

बिहानको समय । भर्खर घाम लाग्दै थियो । कतिपय घाम भेट्ने ठाउँमा उभिएर घाम ताप्न व्यस्त थिए । कोही भने घुम्ती चिया बिक्रेतासँग चिया किनेर खाँदै थिए । कोही समूह बनाएर गफिन व्यस्त थिए । कोही बाटोको रेलिङमा बसेर पत्रिका पढ्दै थिए । नजिकै एउटा लामो लाइन देखे । त्यो लाइनलाई पच्छ्याउँदै म परराष्ट्र मन्त्रालयको गेट नजिक पुगे । गेट नजिकै केही प्रहरी कर्मचारीहरू तैनाथ थिए । उनीहरू कहिले सिठी फुक्थे, त कहिले चिच्याउँथे । यताको भीडलाई उता र उताको भीडलाई यता गर्नमै उनीहरू व्यस्त थिए । मैले नजिकैको प्रहरीलाई राहदानीको फाराम कताबाट बुझाउने भनेर सोधे । उसले छक्क परेर मलाई तलबाट माथिसम्म हेर्दै सोध्यो । ‘नयाँ लिनको लागि हो?’
‘हो । नयाँ लिने फाराम । द्रुत सेवा मार्फत ।’ मैले हतार–हतार जवाफ दिए ।
‘हा हा हा…याँ सब द्रुत सेवामै आउने हो । उ यो लाइनमा उभिनुस् ।’ उसले हाँस्दै मलाई त्यही लाम देखाए, जुन लामलाई छिचोल्दै म गेटसम्म पुगेथे । म त्यो लाममा उभिन फेरि पछाडी फर्किए । म लाममा सामेल भए । मेरो अगाडि म जस्ता धेरै युवाहरू लाममा उभिएका थिए । प्रायजसो सबैको हातमा ‘माइ क्लिएर ब्याग’ जस्तो देखिने पलास्टिकका फाइल थिए । फाइलमा नागरिकताको सक्कल प्रतिलिपिका साथमा राहदानीका लागि भरिएको फाराम र केही प्रति फोटो थिए ।

केहीबेरमै हल्लाखल्ला गर्दै लाम अगाडि बढ्यो । लाम बढ्ने गती सोचे भन्दा छिटो थियो । गेट नजिक पुग्नासाथ यसो अगाडिपट्टि हेरे । केही प्रहरीहरू विद्युत्तिय यन्त्रबाट भित्र छिर्ने व्यत्तिहरूको शरिर जाँच गर्दै थिए । शरिर जाँचको काम सकिनासाथ ती व्यक्तिहरू दौडेर भित्र छिर्थे । मेरो पनि पालो आयो । मेरो पनि शरिर जाँच भो । देखाउन सजिलो हुन्छ भनेर मैले नि मेरो ‘माइ क्लिएर ब्याग’को फाइललाई हातमै बोकेको थिए । मलाई ती शरिर जाँच्ने प्रहरीले भित्र छिर्न आदेश दिए । म विद्युत्तिय गेट हुँदै भित्र छिरे । म पछि पछि आउने केही केटाहरू दौडेर अगाडि बढे । मैले सोचे म नि दौडन्छु । दौडिए । यस्तो दौडाइ मैले भारतीय टिभी च्यानलमा प्रसारण हुने रियालिटी सो जस्तैः इन्डिएन आइडियल, एक्स फ्याक्टर आदिमा देखेको थिए । गेट खुल्नासाथ ह्वार्र युवायुवतिको भीड दौडेर भित्र छिरेको टिभीमा देखाउँदा यस्तो लाग्थ्यो, यो ठूलै महासङ्ग्राम हो!

केही केटाहरूले दौडेर मलाई छिचोले । केही केटाहरूलाई मैले नि छिचोले । दौडनुको राज बल्ल खुल्यो । भित्र अर्को लाम रैछ । लाममा अगाडि पालो पाउनका लागि ती केटाहरू मरिहत्ते गरेर दौडिएका रहेछन् । सोचे, आजको दिन मेरो लाम लागेरै बित्ने भो । म लाममा उभिए । यो लाम फाराममा टोकन लाउनका लागि रहेछ । लाम सजिलै र चाँडै अगाडि बढिरहेको थियो । एकजना प्रहरी लाम मिलाउन र अर्को एकजना कर्मचारी फारममा टोकन छाप हान्न खटिएका थिए । मेरो फारममा नि टोकन छाप लाग्यो । ‘टोकन नम्बर १४०९’ ।

टोकन लाग्नासाथ यसो पछाडि फर्केर हेरे । म पछाडि अझै १०० जना जति लाममा थिए । पुरुषहरूको लाइन छेउमै महिलाहरूको अर्को लाइन थियो । उनीहरू पनि त्यहाँ टोकन लिन नै लाइन लागेको थाहा भयो । टोकन पाएका केटाहरू फेरि दौडिएर अगाडि बढ्थे । म पनि दौडिए । सोचे, अगाडि दौडनेहरूकै पछि पछि दौडनु हितकर छ । केहीबेरको दौडाइ पछि म एउटा ठूलै भीडमा पुगे । जहाँ १५ सय भन्दा बढी युवा युवती र केही पाका उमेरका व्यक्तिहरूको भीड थियो । त्यही भीडभित्र म नि छिरे । अपरिचित अनुहारहरूलाई हेर्दै, मुस्काउँदै, छक्क पर्दै अगाडि बढिरहे ।

‘फाराम त दश बजेपछि देखि मात्र बुझ्छन् रे ।’ एकजना झुस्स कपाल पालेका, कैलो जुँगा र दाह्री पालेका, पछाडी झोला भिरेका, घाँटीमा गलबन्दि बाँधेका, मैलो–मैलो भईसकेको ज्याकेट, मैलै प्यान्ट, हात्ति छाप चप्पल लगाएका र हातमा नेपाली कागजको फाइल बोकेका एकजना दाजुले भने । भीडमा बोल्न, यस्ता जानकारी दिन चिनेकै मान्छे हुनुपर्छ भन्ने रहेनछ । एउटाले बोल्न शुरु गर्नासाथ उसको कुरा सुन्न मान्छे वरिपरि झुम्मिहाल्थे ।

मैले ‘ए, हो र?’ भन्दै उनको आँखामा हेरे । उनको आँखामा चमक भने थियो । अचम्मको चमक र केही आशा थियो उनको आँखामा । मैले पुलुक्क उनको फाराममा आँखा गाँडे । बैतडीका रैछन् । उनी बैतडीदेखि, राजधानीमा राहदानी बनाउन आइपुगेका थिए । त्यो नि १०,००० रुपैंया शुल्क तिरेर द्रुत सेवा मार्फत् ।

एकतले लामो भवन, त्यसको अगाडिपट्टि ओत लागेर बस्न बनाइएको ठूलै टहरो र बिचमा केही कुर्चीहरू राखिएका थिए । कुर्चिहरू शितले लपक्कै भिजेका थिए । कुर्चिमा नम्बर पनि लेखिएको थियो । त्यहाँ नम्बर लेखिएका करिब ३ सय जति कुर्चिहरू थिए । केही व्यक्तिहरू कुर्चिमा लागेको शित पुछ्दै थिए । कोही कुर्चिमाथि उभिएर अगाडिको भीड हेर्दै थिए । छेउमै एउटा शौचालय थियो । शौचालयको गन्ध यतैसम्म ह्वास्सै आउँथ्यो । एक तले भवनमा ५ वटा जति कोठाहरू थिए । ती कोठाहरूलाई राहदानी फारम बुझ्ने र राहदानी वितरण गर्ने काउण्टरका रुपमा प्रयोग गरिएका थिए । त्यहाँ लेखिएको बोर्डले यस्तै सङ्केत गथ्र्यो ।
‘आफ्नो टोकन नम्बर अनुसार नै कुर्चिमा बस्ने हो रे ।’ एकजना भाइले भने ।
‘ए हो, र ?’ अर्को सँगैको केटाले छक्क पर्दै सोध्यो । उसले आफ्नो टोकन नम्बर हतार–हतार हेर्यो ।
‘ज्या, मेरो त ९०० पो रैछ त टोकन नम्बर पनि । याँ ९०० वटा कुर्चि छन् त ?’ उसले औंलाले इसारा गर्दै कुर्चि गन्न थाल्यो ।
‘तपाईं त यतै उभिने हो । मेरो त ३१० हो टोकन नम्बर । मेरो लागि त कुर्चि छ । हे हे ।’ केटो द¨ पर्दै आफ्नो कुर्चि खोज्न गयो । मैले आफ्नो फाराम हेरे । टोकन नम्बर १४०९ । एकचोटीमा ३००को हाराहारीमा पालो आउने रैछ कुर्सिमा बस्ने । मैले अनुमान गरे । मेरो त पाँचौं लटतिर मात्र पालो आउने रैछ । यसो हातको घडि हेरे भर्खर बिहानको सबा आठ बजेको थियो । अझ पौने दुई घण्टा बाँकी छ दश बज्न । ओहो, समय कसरी काट्ने !

भीडलाई छिचोल्दै यसो घाम भएको ठाउँमा उभिनु पर्यो भनेर म राहदानी विभागको प्रमुख गेटतिर लागे । त्यहाँ नजिकै उभिएका एकजना प्रहरीलाई सोधे, ‘दाजु मेरो टोकन नम्बर १४०९ हो । कतिबजे तिर पालो आउँला ?’
उनले हाँस्दै भने, ‘हे हे…१४ सय भने पछि त धेरै लास्टमै परि गो त । धन्न टोकन चाँही पाउनु भएछ । तपाईं त बाहिर गएर दिउँसो ३–४ बजेतिर मात्र आउँदा हुन्छ । अहिले पालो आउँदैन तपाईंको ।’
बाहिर ? बाहिर काँ जाने । अन्योल । मैले तत्काललाई बाहिर नजाने निर्णय गरे ।
नजिकै घाम भएको ठाउँतिर गए । त्यहाँ अगाडि देखि नै ५–६ जनाको एउटा समूहमा केही व्यक्तिहरू गफिन व्यस्त देखिन्थे । म नि त्यही समूह नजिकै गएर उभिए । समूहमा एकजना अलि पाको उमेरका व्यक्ति बडो फूर्तिका साथ आफ्ना कुराहरू राख्दै थिए । सँगै उभिएका अरु व्यक्तिहरू उनको कुरा एकटक लाएर द¨ परेर सुन्दै थिए । मैले नि उनको कुरा एकछिन कान त्यतैतिर राखेर सुने ।
उनी भन्दै थे, ‘…ट्याँ ट याँ जस्टो हो र? ट्याँ ट कोही ठूलै मान्छेको सबारी भो भने पनि जनटाहरू कसैलाई था हुन्न । याँ भे त बातै जाम गरेर जनटालाई कटि सास्टी डिन्थे ।…ट्याँ फेरि केटाहरू सब सेफ गरेर चिल्लो हुन्छन् । कसैले डारी जुँगा पाल्डैनन् । सुतेड बुटेड भएर चत्त पर्छन् । केतीहरू पनि च्वाक च्वाक हुन्छन् फेरि । काममा फेरि ट्यटीकै लगाव राख्छन् । काम सिक्न ट एकचोती जानै पर्ने डेश हो ट्यो…’ यत्रो कुरा सुनिसक्दा पनि मैले ती व्यक्तिले कुन देशको बारेमा कुरा गरिरहेका छन् भनेर ठम्याउन सकिरहेको थिइन । डल्ले डल्ले, मोटे मोटे, छालाको जुत्ता लगाएका, जिन्सको प्यान्ट, सर्ट अनि छालाको ज्याकेट लगाएका, टाउँकोमा क्याप अनि हातमा अरुले झैं राहदानीको फारम भएको फाइल बोकेका ती व्यक्तिको बोलीको लवजले तिनी यतै काठमाण्डौं ललितपुर तिरका नेवार हुन् भन्ने छेको पाइन्थ्यो । केहीबेर पछि था भो, ६ बर्ष जति जापान बसेका ती दाजु आफ्नो जापान अनुभव त्यहाँ भेला भएका अन्य व्यक्तिहरूलाई सुनाउँदै रहेछन् । उनको कुरा जति–जति चर्को हुन्थ्यो, त्यती त्यती उनका कुरा सुन्न वरपर मान्छेहरू झ्यामिन्थे । उनी पुरानो राहदानी खारेज गरि नयाँ बनाउन त्यहाँ आएका रहेछन् । नयाँ अर्थात् एमआरपी । पुसको अन्तिम सातातिर फेरि जापान उड्ने कुरा उनले समूहमै जिकिर गरे । उनको कुरा जति सुनौं उती सुनिरहु झैं लाग्थ्यो तर म त्यहाँबाट एकछिन नजिकैको चमेना गृहतिर सोझिए ।

चमेना गृहमा विहान देखि नै चिया र नास्ता खाने मान्छेहरूको भीड थियो । मैले नि एक कप कालो चिया र एक प्लेट चनाको लागि टिकट काटे । त्यहाँ अग्रिम टिकट काटेर मात्र खानेकुरा लिन पाइने रैछ । विहानको नौ बज्न लागिसकेको थियो । मन्त्रालय र राहदानी विभागका कर्मचारीहरूको आउने क्रम शुरु भएर पनि होला चमेना गृह र आसपासमा मानिसहरूको भीड बढ्न थालेको थियो । मेन गेटमा हल्लाखल्ला बढ्दै थियो । बाइक र कारमा मान्छेहरू आउने क्रम जारी थियो । गेटमा खटिएका दुईजना प्रहरीहरू गेटमा लागेको भीड नियन्त्रण गर्नमै व्यस्त थिए ।

खाजा खाइसकेपछि एकछिन घाममा बस्नुपर्यो भनेर गेट नजिकै रहेको सोधपुछ कार्यलयको पछाडीको पर्खाल अगाडि उभिन गए । त्यहाँ अगाडि देखि नै केही युवा युवतीहरू घाम तापेर गफ गर्दै थिए । हिउँदको समय, विहानको पारिलो घाम । एकछिन भएपनि त्यो घाममा बस्न पाउँदा सँसारै भुले झैं भएको थियो । त्यतिकैमा एकजना प्रहरी सिठी फुक्दै आइपुगे ।
‘ल, ल तपाईंहरू यता नबस्नुस् । जानुस्, भित्र जानुस् । यता भीड नगर्नुस् ।’ हातमा भएको डण्ठा हल्लाउँदै ती प्रहरीले सबलाई बसिरहेको ठाउँबाट उठ्न र त्यहाँबाट जान भन्दै थिए ।
‘एकैछिन त हो दाजु । एकछिनमा गईहाल्छौं नि ।’ मैले भने ।
‘अफिस टाइम सुरु हुन लाग्यो । यहाँ भीड नगर्नुस् ।’ उसले नजिक आएर भन्यो ।
सबैजना उठेर राहदानीको फाराम बुझ्ने ठाउँतिर लागे । कोही बाहिर गए ।
मलाई कता जाउँ, कता जाउँ भयो । भित्र जाउँ त अहिले पालो आउने हैन । बाहिर जाउँ त, भित्र छिर्न फेरि लाइन लाग्नु पर्छ रे । लाइन लागेरै बित्ने भो आजको दिन !

म भित्रै गए । भित्र अर्थात् राहदानीको फाराम बुझ्ने ठाउँमा । त्यहाँ सेवाग्राहीहरू झुण्ड–झुण्ड बनाएर गफिन व्यस्त थिए । दश बज्नै लागेको हुँदा, अगाडि नम्बर हुने सेवाग्राहीहरू भने कुर्चीमा बसिसकेका थिए । कुर्चीमा बसेका मध्ये कोही त्यही उङ्दै थिए । कोही पत्रिका पढ्दै थिए । एउटा पत्रिकाको वरपर दशजना भन्दा बढीको भीड थियो । कोही तलतिरबाट, कोही दायाँतिरबाट, कोही बायाँतिरबाट, कोही माथिबाट पढ्दै या भनौं हेर्दै थिए पत्रिका । कोही मोबाइलमा गेम खेल्दै थिए त कोही गीत सुन्दै थिए । कोही कुर्चीमाथि उभिएर काउण्टरको ढोका कतिखेर खुल्छ भनेर हेर्दै थिए । कुर्चीमा बस्नेहरूलाई हेर्दै आफू कुर्चीमा बस्ने पालो कुर्दै बाहिरपट्टि उभिने मान्छेको ताँती पनि उत्तिकै थियो । म पनि त्यही ताँतीमा थिए ।

दश बज्यो । तीनवटा काउण्टरको ढोका खुल्यो । कुर्चीमा बस्नेहरू लाइन लागेर नागबेली घुम्दै (कुर्ची नागवेली तरिकाले राखिएको थियो) बिस्तारै काउण्टरतिर बढे । खाली भएका कुर्चीहरूमा अरु त्यती नै मान्छेहरू थपिन्थे । मलाई घरि–घरि ‘म्युजिकल चिएर रेस’ खेलको याद आउँथ्यो त्यस्तो देख्दा । काउण्टर अगाडि त्यस्तै २५–३० जनाको लाइन लगाइएको थियो । लाइन बिस्तारै अगाडि बढ्यो ।
हेर्दाहेर्दै फाराम बुझाएर फर्कनेहरू पनि भेटिन थाले । भर्खरै फाराम बुझाएर आएका एकजना भाइलाई मैले सोधे ।
‘कति समय लाग्ने रैछ, साथी ?’
उसले भन्यो, ‘खासै लाग्दैन रैछ । पालो पाउन मात्र समय लाग्ने हो । त्यहाँ पुगेपछि त एकैछिनमा हुने रैछ ।’
‘तपाईको टोकन नम्बर कति थियो नि?’ म नजिकै उभिएको अर्को साथीले उसलाई सोध्यो ।
‘पाँच ।’ उसले हाँस्दै जवाफ दियो ।
‘ओहो, पाँच ? बिहान कति बजे आउनु भको नि टोकन लिन ?’ मैले सोधे ।
‘म त राती १२ बजेदेखि नै बाहिर थिए नि । लाइन त बिहान ४ बजेतिर लागेको ।’ उसले आँखा मिच्दै भन्यो ।
मैले छक्क परेर उसलाई हेरे । तराईतिरका लाग्ने तिनले सामान्य सर्टमाथि हाफ सुँइटर लगाएका थिए । प्यान्ट र स्पोर्ट सुज लगाएका थिए । गलामा गम्छा बाँधेका थिए । पछाडी मैलो–मैलो देखिने झोला भिरेका थिए । झोलामा विश्व चर्चित ब्राण्ड ‘एडिडास’को लोगो थियो । हातमा उही ‘माइ क्लिएर ब्याग’ थियो ।
‘त्यो हातको के हो नि ?’ मैले सोधे ।
‘स्लिप हो । अर्को हप्ता मंगलबार यही स्लिप र नागरिकता लेर आउनु पर्छ रे पासपोट लिन ।’ उ त्यसै–त्यसै द¨ देखिन्थ्यो । हुन पनि किन नपरोस् त द¨ । कति दिन देखि यहाँसम्म धाएर आएको छ, यही राहदानीको लागि भनेर ।
टोकन नन्बर पाँच आफ्नो बाटो लाग्यो । म घाँटी तन्काई तन्काई काउण्टरतिर हेर्दैथिए । लाइन कतिको छिटो अगाडि बढ्दै छ भनेर । लाइनतिर हेर्दै, हातमा स्लिप बोकेर फर्कनेहरूलाई नजिकै आउनासाथ ‘तपाईको नम्बर कति हो ?’ भनेर सोध्न छाडेको थिइन । किनकी कति नम्बरको पालो आयो भनेर थाहा पाउने त्यहाँ भरपर्दो माध्यम त्यही नै एउटा थियो । काउण्टरको ढोका माथि ‘प्लिज प्रोसिड’ भनेर लेखिएको टोकन नम्बर डिस्प्ले गर्ने साधन पनि खोइ कति दिन देखि हो धुलो खाएर बसेको थियो ।
विस्तारै टोकन नम्बर १०, ५० हुँदै १०० को पनि पालो आयो । क्रमशः टोकन नम्बर अनुसार नै फाराम बुझाउँदै फर्कनेहरूको संख्या पनि बढ्दै गयो ।

मैले आफ्नो टोकन नम्बर हेरे । १४०९ । यसो हिसाब गरे । एकजनालाई फाराम बुझाउन १ मिनेट नै लाग्यो भने पनि १३०० मिनेट जति पछि मात्र मेरो पालो आउने छाँट देखे । हुन त तीनवटा काउण्टरबाट भकाभक फाराम बुझ्ने काम त हुँदै थियो । त्यही नि, लौ आज मेरो पालो आउँला जस्तो लागेन । तर मैले सुनेको थिए, एकदिनमा जति टोकन नम्बर दिइन्छ, ती सबैको पालो सोही दिन आउँछ भनेर । अघि भर्खर शौचालय बाहिर गाइगुँइ सुनेको कुरा । विस्वस्त हुन नजिकै रहेको एकजना प्रहरीलाई सोधे ।
‘दाजु मेरो टोकन नम्बर १४०९ हो । आज मेरो पालो आउँला कि नआउँला?’
‘हे हे, तपाईं ढुक्क हुनुस् । भित्र छिरेको जति सबको पालो आउँछ । ढिलो चाँडो मात्र हो । बरु तपाईंको त बेलुका तिर मात्र आउँला पालो ।’ ती प्रहरी दाइले यसो मलाई तलदेखि माथिसम्म हेर्दै भने ।

बाहिर निस्क्ने मन थिएन । फेरि एकछिन त्यतैतिर टहल्न निस्के । चमेना गृह भएकोतिर जान मन लाग्यो । किनकी त्यहाँ घाम ताप्न पाइन्थ्यो । समय कटाउन एकजना साथीलाई यसो पढ्न लाएकका एक दुईवटा किताब लेर आइदेउँ है भनेको थिए । तर साथी आउँछु भनेर भनेको नी दुई घण्टा भइसकेको थियो । साथी आउँछ कि भनेर गेटतिर हेर्न भने छाँडेको थिइन । चमेना गृह नजिकै पुग्दा ३–४ जना युवाहरू माथितिर हेर्दै कुरा गर्दै थिए । मैले पनि त्यतैतिर हेरे । उनीहरू नजिकै रहेका रुखहरूमा टन्नै झुण्डिरहेका चमेरा हेर्दै तिनीहरूकै बारेमा कुरा गर्दै रहेछन् ।
एकजना भन्दै थियो, ‘यो चमेरो भन्ने जात पनि अजबै पो हुन्छ भन्या ।’
‘मलाई त डर लाग्छ चमेरा भन्नासाथ । इङ्लिस फिलिमहरूमा त भूत भएको घरमा बस्छन् नि यीनिहरू त ।
आबुइऽऽऽ ।’ सँगै माथितिर हेरिरहेको एकजना केटोले आङै जिरि¨ भए झैं, कुम हल्लाउँदै भन्यो ।
‘हैन यो चरा हो कि जनावर ? अचम्म छ है ?’ अर्कोले सोध्यो ।
म माथितिर, चमेरै हेर्दै थिए । एक हुल चमेरा खै कताबाट हो ह्वार्रर आउँथे । हाँगामा बस्थे र हात हाँगामा अठ्याएर शरिर तुन्दु्र¨ तलतिर झुण्डाउँथे, टाउँको तलतिर पारेर । मलाई नि अचम्मै लाग्यो । काठमाडौं बस्दा, त्यतातिर बाटो पर्दा देख्न त देख्थे ती चमेराहरूलाई तर त्यसरी ध्यान दिएर हेरेको थिइन ।

केही बेरमा हुलका हुल मान्छेहरू चमेना गृहतिर कुद्दै आए । हामी चमेरा हेरिरहेकाहरूको ध्यान त्यतैतिर गयो । एकजना दौडेर म नजिकैबाट अगाडि बढ्दै गरेको एकजना केटालाई सोधे, ‘साथी, फेरि किन हो दौडेको ? के भो ?’
‘ए, खाजा ब्रेक भो । अब एक घण्टा पछि मात्र बुझ्छ रे फाराम । सबै स्टाफ खाजा खान गए । त्यही भएर खाजा खान दौडेको ।’ साथी त्यती भनेर हतारिँदै चमेना गृहभित्र पसि पनि हाले । हेर्दाहेर्दै चमेना गृहमा समेत लामै लाम लाग्यो । लाम त बाहिर सम्मै पो आइपुग्यो । यसो घडी हेरे । दिउँसको १ बजेको थियो । भनेसी २ बजेसम्म खाजा बे्रक । लौं, खानै पर्यो । पेटकै लागि त यो मरिहत्ते गर्नुपरेको छ ।
मैले चमेना गृहमा पालो पाउने छनक देखिन । म त्यहाँबाट नजिकै रहेको चौरमा एकछिन बस्नुप¥यो भनेर त्यतैतिर लम्के । नजिकैबाट हातमा ब्ल्याङ्केट र डस्ना बोकेका तराई मुलकै एकजना मान्छे चमेना गृहतिरै लम्कँदै थिए । उसको साथमा अर्को एकजना साथी पनि थिए । ओहो, म उनको हातमा भएको ब्ल्याङ्केट र डस्ना देखेर उसलाई नै फर्कि–फर्कि हेर्न थाले ।

नजिकको चौर पुग्न पाछैन परबाट ‘त्याँ नबस्नुस्, दुबो माडिन्छ । उता गएर बस्नुस् ।’ भन्दै हात हल्लाउँदै एकजना दिदी उँ परबाट कराउँदै आएको देखे । म चौर नजिक पुग्दा पहिले देखि नै ३–४ जनाको समूह–समूहमा केही युवायुवतीहरू घाम ताप्दै गफिन व्यस्त थिए । ती दिदी नजिक आइपुगेर झन् मज्जाले हात हल्लाउँदै, ‘लौ, तपाईंहरू यहाँ नबसिदिनुस् । हेुर्नु त दुवो सप्पै मरिसक्यो ।’
‘याँ नबसे काँ गएर बस्ने त ?’ एकजना केटोले बसेरै ती दिदीलाई ठाडो घाँटी पार्दै सोध्यो ।
‘उ पर गएर बस्नुस् । एक दिन हैन दुई दिन हैन, तपाईंहरू जस्ता मान्छे दिनदिनै आउछन् ।’ ती दिदी चौरमा छरिएका बदामका बोक्रा उठाउन थालिन् । तर, ती चौरमा बस्ने कसैले ती दिदीको टेर पुच्छर लाएनन् । मलाई भने चौरमा बसौं कि नबसौं भइरहेको थियो । म उभिएरै सब चर्तिकला हेर्दै थिए । एकैछिनमा ती दिदी त्यहाँबाट खै कता लागिन् कसैले मतलब राखेनन् । केहीबेरमा ती दिदी फर्केर आइन् । उनको साथमा एकजना प्रहरी जवान् पनि थिए । ती जवान्ले सिठी फुक्दै, ‘ल ल तपाईंहरू त्यहाँबाट गइदिनुस् । चौरमा नबस्नुस् ।’ भनेर हातमा भएको डण्ठा हल्लाउन थाले । ती दिदी भने छेउमा गमक्क परेर मुसुमुसु हाँस्दै उभिएकी थिइन् ।
चौरमा बसेका सबैजना उठे र लाखापाखा लागे । ती दिदीले मुस्काउँदै, ‘हुन त भाइहरूले पनि ‘टु थाउजेन’ तिरेर या पासपोट लिन आउनु भको छ । हामी किन बस्न नपाउने भन्ने होला । के गर्ने मेरो पनि जागिर हो ।’ भनिन् ।
‘काँ दिदी टु थाउजेनले मान्नु । टेन थाउजेन नी । दश हजार ।’ उठ्दै गरेको एकजना केटोले भन्यो । ती दिदी अलि लजाउँदै, ‘ए अ टेन थाउजेन पो त ।’ भन्दै बगैंचामा ओइलाएका, सुकेका पात पति¨र टिप्न थालिन् । ती दिदी त्यहाँको बगैंचा र चौरको हेरचाह गर्ने माली रैछिन् ।
हामी अर्थात् म र चौरबाट उठेका केही साथीहरू भित्रै लाम लाग्ने ठाउँतिर लाग्यौं ।

(पलपलका घटना उत्तिकै महत्वपूर्ण र स्मरणीय हुनसक्छन् । तर हरेक पललाई यहाँ समेट्दा यो महाकाव्य हुने डर पनि त छ । त्यो कुरालाई मध्यनजर गर्दै र पढ्ने व्यत्तिको पललाई सम्मान गर्दै सबै कुरालाई मैले यहाँ समेट्न चाँहिन ।)

समय । समय, कट्नकै लागि चल्छ । घडीका सुँइहरू समय कटाउनकै लागि घुम्छन्, सायद ।
दुई, तीन, चार हुँदै पाँच पनि बज्यो । पाँच बजेसम्ममा भीड अलि होलो भइसकेको थियो । तैपनि केही सय सेवाग्राहीहरू कोही लाममा त कोही कुर्चीमा आफ्नो पालो कुरेर बसीरहेका थिए । म पनि त्यही भीडमा थिए । टोकन नम्बर १४०९ ।
नागबेली आकारमा राखिएका कुर्चीहरूमा बस्ने मान्छेहरूको अनुहारमा एक किसिमको जोश र उमङ्ग देखिन्थ्यो । उनीहरूलाई देख्दा यस्तो लाग्थ्यो कि यिनीहरू पनि अभिताभ बच्चनले खेलाउने टिभी रियालिटी शो ‘कौन बनेगा करोडपती’को हट सिटमा बसेका छन् । म नी त्यो हट सिटमा बस्ने पालो कुर्दै थिए ।
कुर्चीहरूको बिचमा एकजना मोटे मोटे, डल्ले डल्ले प्रहरी थिए । उनको काम कुर्चीहरूमा नम्बर गन्दै मान्छे बसाउने र लाइन अगाडि बढाउने थियो । उनी बेला बेलामा रमाइलो गफ गर्दै कुर्चीमा बस्नेहरूलाई मात्र नभै बाहिर उभिनेहरूलाई समेत हसाईरहेका थिए ।
कुर्दाकुर्दै, हेर्दाहेर्दै मेरो नि कुर्चीमा बस्ने पालो आयो । बसे । हतार हतार । आफू बसेको कुर्चीलाई मैले हट सिट नै माने । बिस्तारै लाइन अगाडि बढ्दै थियो । ढुकढुकी नि उत्तिकै बढ्दै थियो । एन्जाएटी बढ्दै थियो । हेर्दाहेर्दै, कुर्दाकुर्दै मेरो फाराम बुझाउने काउण्टर अर्थात् कोठा अगाडि लाममा उभिने पालो नि आयो । करिव २० जना जतिको लाममा म पनि उभिए । हामी अन्तिम–अन्तिमतिरका सेवाग्राहीहरू थियौं । हामी पछाडी लाम थिएन । भीड धेरै कम भइसकेको थियो ।
अन्ततः मेरो पालो आयो । टोकन नम्बर १४०९ ।
फाराम बुझ्ने कोठा । भित्र छिर्नासाथ । दायाँपट्टि राहदानी अधिकृत र बायापट्टि ग्लोबल आईएमई बैंकका क्यासिएर थिए । राहदानी अधिकृतले फाराम सबै ओल्टाइपल्टाइ गरेर छाप हानिदिए । छाप हानेको फाराम क्यासिएरलाई दिए । तिनलाई मैले गोजीबाट झिकेर दश हजार रुपैंया दिए । तिनले मलाई एउटा रिसिप्टको स्लिप थमाइदिइन् र
भनिन्, ‘एक हप्तापछि आउनुस् ।’
हातमा रिसिप्ट लिएर त्यहाँबाट बाहिरिदा घडीमा बेलुकाको ५:३० बजेको थियो ।

एक हप्ता पछि : मंशिर २५ गते, मंगलबार
समय दिउँसो १२:३० बजे

परराष्ट्र मन्त्रालय । राहदानी विभागको बाहिरी भाग । राहदानी वितरण शुरु हुन डेढ घण्टा बाँकी ।

पोखराबाट त एकाबिहानै माइक्रो चढेको । १२ बजेतिर कलंकीमा झारिदियो । साथी प्रकाशले कलंकीबाट मलाई उसको बाइकमा यहाँसम्म ल्याइपु¥याएको थियो । त्यहाँ पुग्नासाथ एक साता अगाडिको माहोल पुनर्ताजा भए झैं भयो । उही ठाउँ । उही मान्छेहरूका भीड । उही लाम ।
आज पनि विहानै देखि लाम लाग्नेहरूको भीड थियो । झोलाबाट स्लिप झिकेर हेरे । ‘सी–५११’ रैछ आजको मेरो पासपोर्ट बुझ्ने नम्बर । राहदानी विभागको प्रमुख गेटको दायाँ र बायाँ रहेको टहरा मुनी पहिल्यै देखि लाम लागेर बस्ने सेवाग्राहीहरू टन्नै थिए । नजिकै रहेको लाममा गएर सोधे, ‘ए, बी, सी कुन लाइन हो यो?’
अगाडिको साथीले भने, ‘बीको लाइन ।’
‘सीको लाइन कता हो नि ?’ मैले फेरि सोधे ।
‘सीको लाइन त उ त्या हो?’ भनेर अलि परको लामतिर देखाइदिए ती साथीले ।
म त्यतैतिर लम्किए । प्रकाश पनि मसँगै थियो । उ पनि छक्क पर्दै, त्यहाँको माहौल हेर्दै मेरो पछि–पछि, जता जता गयो उतै हिँड्दै थियो ।
म सीको लाममा अन्तिममा गएर उभिए । प्रकाश पनि मेरो पछाडी उभियो । हामी एकछिन त्यही लाममा उभिइ उभिइ गफिन थाल्यौं । प्रकाश भन्दै थियो, ‘खुरुक्क जिल्ला गाँको बेला, जिल्लाबाटै झिकेको भए भैहाल्थ्यो नि ? यस्तो झमेला त पर्दैन थियो ।’
‘खै यार सजिलो र चाँडो हुन्छ भनेर द्रुत सेवा छानेको । के था यस्तो दुःख पाइन्छ भनेर ?’ मैले प्रकाशतिर नहेरी नजिकै उभिएका दुईजना प्रहरीहरूतिर हेर्दै जवाफ दिए । ती प्रहरी जवानहरू एकजना युवतीसँग गफिन व्यस्त थिए ।
‘तर एउटा अनुभव नै सही ।’ मैले मुस्स हाँस्दै प्रकाशतिर हेरे ।
केहीबेरमा एकजना प्रहरीले, ‘ल, ए र बी यतै बस्नुस् । सी र डी उ पारी गएर लाइन लाग्नुस् ।’ भन्यो । के चाहियो, सी र डीका सबै दौडी हाले । म नि दौडने शुरमा थिए । गएको हप्ताको दौडाइ अझै भुलेको थिइन । अब भने प्रकाशले मसँगै दौडनु भन्दा छुटिनु मुनासिव ठानी, ‘ल, साथी तिमी लाइन लाग । म चाँही जान्छु ।’ भन्यो ।
‘ल, यार साथी । मसँगै दौडेर, लाइन लागेर तिमीलाई के फाइदा । जाउँ न त । म काम हुनासाथ फोन गरुला ।’ मैले भने । प्रकाश गयो ।

म अलि हतारिँदै पारी सी लाइनमा सामेल भए । करिब एक घण्टा जति लाइन बसे पछि मात्र भित्र छिर्ने पालो आयो । भित्र छिर्नासाथ दौड सुरु भइहाल्यो । दौडेर राहदानी वितरण काउण्टर अगाडि लाम लाग्न पुगियो । त्यहाँ ए, बी र सी काउण्टर छुट्टाइएका थिए । म सीको लाममा सामेल हुन नजिक पुगे । अघि लाम लाग्न, भित्र छिर्न गरेको मरिहत्ते भित्र आए पछि टुट्यो किनकी त्यहाँ जो अगाडि पुग्यो उही अगाडि नभै नम्बर क्रम अनुसार लाम लगाइँदै थियो । हरेक लाममा एकजना प्रहरी नम्बर अनुसार लाम मिलाउन व्यस्त थिए । नम्बर क्रम अनुसार मेरो लाममा सामेल हुने समय अलि पछि मात्र आउने देखियो । म अलि पछाडी नै उभिए ।

केहीबेर पछि राहदानी बाड्ने काउण्टरहरू खुले । बिस्तारै लाम अगाडि बढ्न थाल्यो । हेर्दाहेर्दै अगाडि लाममा उभिनेहरू हातमा राहदानी बोकेर फर्कन थाले । लगत्तै मेरो नि लाममा सामेल हुने पालो आयो । म लाममा थपिए । सहज र सजिलै लाम अगाडि बढिरहेको थियो । मिहिनेतको फल हात पार्न लालायितहरूको पछि–पछि म नि लालायित हुँदै अगाडि बढिरहे । केहीबेरमै म राहदानी वितरण काउण्टरको झ्यालमा पुगे । मैले काउण्टरमा बसेका कर्मचारीलाई स्लिप बुझाए । उनले नाम के हो भनेर सोधिन् । मैले मेरो नाम भने । उनले गएका साता बुझाएको फारामको तलपट्टि हस्ताक्षर गर्न लगाइन् । मैले हस्ताक्षर गरे । उनले स्लिपको नम्बर ‘सी–५११’ हेरिन् । सोही नम्बर अनुसार मिलाई राखेको राहदानी झिकेर मेरो हातमा थमाइदिइन् ।

अरे वा ! ‘हेर्दाहेर्दै महेशले नि पासपोर्ट बनाउने भयो ।’ मैले झट्ट मिराले केही हप्ता अगाडि अफिसमा भनेको कुरा सम्झिए । हे हे । म मनमनै हाँसे । हो त, लौ जा मेरो नि पासपोर्ट बन्यो ।
कतै केही त्रुटी भएको त छैन भनेर हातमा भर्खरै ‘तात्तातो’ परेको पासपोर्टमा लिखीत सम्पूर्ण विवरण पढ्दै म काउण्टरबाट बाहिरिए । धन्न केही त्रुटी भएको रहेनछ ।

मैले पासपोर्टलाई झोलामा राखे । मेन गेटबाट बाहिरिँदै गर्दा यसो पछाडि फर्केर हेरे । आजसम्मको लागि पाएका सबै टोकन नम्बरहरूलाई त्यही छाडेर म पोखरा फर्कने अन्तिम गाडि भेट्न कलंकी तिर हानिए ।

(स्मरणीय रहोस्, गा.वि.स हुँदै जिल्लामा द्रुत सेवा मार्फत राहदानीका लागि सिफारिस र नागरिकता प्रमाणिकरणका लागि भोगिएका कुराहरू यस लेखमा समेटिएका छैनन् ।)

सबै तस्विरहरूः महेश श्रेष्ठ

]]>
https://bhajumahesh.com/token-no-1409/feed/ 0 155
हिरोनी को, रेखा थापा हो? https://bhajumahesh.com/heroine-ko-rekha-thapa-ho/ https://bhajumahesh.com/heroine-ko-rekha-thapa-ho/#respond Wed, 07 Oct 2020 16:40:32 +0000 https://bhajumahesh.com/?p=110 Read More]]>

मितिः २०६९ भदौ महिना
दिनः ठ्याक्कै थाहा भएन
स्थानः आरुघाट, धादिङ
समयः दिउँसो


“हिरोनी को, रेखा थापा हो ?” एकजना आमैले सोधीन् । उनीसँग अन्य केही विभिन्न उमेर समूहका महिलाहरू पनि थिए । उनीहरूको अनुहारमा पनि उत्तिकै चाख थियो हिरोइनका बारेमा बुझ्ने ।
“हो, हो । रेखा थापै हो ।” मैले भनिदिए । 
उनीहरू बिच चहलपहल शुरु भयो । मुखामुख गर्न थाले ।
“खै त का छ नि, रेखा थापा ।” आमैले अझै जिज्ञासु बन्दै सोधिन् ।
“खै आज आकाश खुल्यो भने हेलिकप्टरमा आउँछिन्, काठमाडौंबाट ।” मैले नि सहज जवाफ दिए ।
“ए, ल त भोलि हेर्न आउनु पर्ला त्यसो भए ।” बुढी आमै जान मात्र लागेकी थिइन्, केही सम्झे झैं फर्केर मुस्स हाँस्दै पुनः सोधिन् ।
“अनि हिरो को, राजेश हमाल हो ?”अब भने मलाई अलि कस्तो–कस्तो भयो ।
“हैन आमै, हिरो राजेश हमाल हैन । अनि हिरोनी रेखा थापा पनि हैन । यही भिडमा छन् कलाकारहरू । को हिरो जस्तो देखिन्छ, अनि को हिरोनी जस्तो, हेर्नु त, अनि आफै पत्ता लगाउनु ।”आमैले छक्क पर्दै ओठ लेप्राइन् । यसो वरपरी सबलाई हेरिन् र “जाउँ हिँड ।” भन्दै अरुहरूलाई त्यहाँबाट हिँड्न सङ्केत गर्दै उनीहरू त्यहाँबाट हिँडे ।

“सट रेडि । ल हिरामान बाइक स्टार्ट गर्नु । क्यामेरा रेडी ?” निर्देशक नवराज कराए ।
“रेडी ।” क्यामेराम्यान राजिब चिच्यायो ।
“केदार, त्यहाँको मास कन्ट्रोल गरौं है ?”
“हिरामान रेडी हो ?” नवराज ।
“हो ।” म अर्थात् हिरामान, हिरामान मेरो चलचित्रको नाम । 
मैले आफ्नो बुढी औंला देखाउँदै आफू रेडि भएको संकेत दिए ।
“क्यामेरा रोलिङ् ?” नवराज ।
“रोलिङ ।” राजिब करायो ।
“एक्सन् ।” नवराज ।

म बाइक भुर्रर पारेर अगाडी बढे । बिचमा स्टार्ट बन्द भयो । के भएछ भनेर यसो बाइक छेउ लाएर पार्टपुर्जाहरू हेरे । रिसको झोकमा बाइकलाई एक लात हाने ।
“कट् ।” नवराज फेरि कराए । “ल, सट् ओके ।”

फेरि एकछिन चहलपहल शुरु भयो । केदारले रोकी राखेका मास अर्थात् मान्छेहरूलाई छाडिदिए । उनीहरू कल्याङ्मल्याङ् गर्दै अगाडि आए । केहीले मेरो अगाडि आएर मुस्स हाँस्दै अर्को साथीतिर हेर्यो । ती अर्का साथी पनि फिस्स हाँस्यो । सबैजसोले मलाई ट्वाल्ल पर्दै, हेर्दै आफ्नो बाटो लागे । कतिले त फर्कि फर्कि पनि हेरे ।

म भने खासै छक्क परिन । किनकी उनीहरूले ममा हिरो खोजेका थिए । हिरो अर्थात् राजेश हमाल । राजेश हमाल न भएनी राजेश हमाल जस्तै खोजेका थिए उनीहरूले ममा । लामो–लामो नभए झ्यापुल्ले कपाल, खाइलाग्दो ज्यान भएको जसलाई केटीहरू ‘हङ्क’ भन्न रुचाउँछन्; जीउडाल मिलेको, सुकिला मुकिला । सायद उनीहरूले ममा त्यस्तो पाएनन् र त ओठ लेप्राउँदै लागे आफ्नो बाटो । डल्ले डल्ले, मोटो मोटो, झुसिल्किरा जस्तै जुँगा भएको, घामले डढेर त्यसै नि काले भएको, पुल्टुक्क भुडी बाहिर निस्केको, कपाल नि जिङ्रिङ्ग परेको, लुगा पनि त्यती सारो सुकिलो मुकिलो हैन, २ लटको यामाहाको थोत्रे एस्कर्ट चढेको, यस्तो नि के हिरो हुन्थ्यो भनेर नपत्याएकाहरूले कसरी हेर्छन् त ?

नेपाली कथानक चलचित्र ‘वनफूल’को सुटिङकाे लागि हामी एक हुल धादिङको आरुघाटमा थियौं । कहिले आरुघाट त कहिले सल्यानटार वरपर सुटिङ् लोकेशन पथ्र्यो । इतिहासमा पहिलोचोटी कुनै चलचित्रको सुटिङ् त्यस ठाउँमा भएको थियो । त्यही भएर पनि त्यस ठाउँमा व्यापक चहलपहल थियो । ‘हाम्रो गाउँमा पनि फिलीमको सुटिङ हँदैछ ।’ भनेर गाउँभरका मानिसहरू उर्लन्थे । स्कूल जाने विद्यार्थीहरू स्कूल नै छाडेर, घाँस–दाउरा जाने दाजुभाइ दिदी बहिनीहरू पनि कामै छाडेर सुटिङ् हेर्न आइपुग्थे । तर उनीहरूले पहिले–पहिले टिभीमा देख्ने गरेको सुटिङ्मा जस्तो ठूला–ठूला टिलिक्क टल्कने रिफ्लेक्टर, बिद्युत्तिय उपकरण, यामानको क्यामेरा नदेख्दा ट्वाल्ल पर्थे । हामीसँग रिफ्लेक्टर त थिए तर साना–साना । हाम्रो क्यामेरा क्याननको डिएसएलआर थियो । उनीहरूले खोजेको क्यामेरा भन्दा बिल्कुल सानो ।

“एहे, कस्तो फुच्चे क्यामेरा !” एकजना स्कूलको ड्रेसमै सुटिङ हेर्न आएको भाइले भनि पनि हाल्यो । उसँग उसका केही साथीहरू प्नि थिए । यन्त्र, उपकरणमा आँखा घुमाइसकेपछि उनीहरूको आँखा पुनः एक राउण्ड घुम्थ्यो । ‘हिरो हिरोनी’ खोज्न होला सायद ।

त्यही स्कूले भाइले मेरो छेउमा आएर सोध्यो ।

“दाइ यो फिलीमको हिरो को ?”

मलाई कस्तो गाह्रो प्रश्न सोधेको होला यो केटोले भने झैं भयो ।

“उ त्यो दाइलाई सोध जाउ ।” मैले हाम्रो मेकअप आर्टिस्ट शंकरतिर देखाउँदै भने ।

उनीहरू शंकर भए ठाउँमा पुगेर उसलाई पनि त्यही प्रश्न सोधे । शंकरले पुलुक्क मतिर हेर्यो । म मुसुक्क हाँसे । शंकर पनि मुसुक्क हाँस्दै मतिर देखाइदियो । ती केटाहरूले नपत्याए झै मलाई हेरे ।

मेरो छेउमा पनि नपरि उनीहरू लाइट फिट भैरहेको ठाउँतिर गए ।

फेरि डाइरेक्टर साब चिच्याए,  “ल सट रेडि ।”

***

अचम्मको क्रेज बनाएका रहेछन् हाम्रा रेखा थापा र राजेश हमालले । मलाई त एक मनले यस्तो नि लाग्यो कि, यी दुई जोडीलाई लिएर चलचित्र बनाउने हो भने बबाल मार्केट लिन्थ्यो होला । तर अहिलेको नेपाली चलचित्रको अवस्था अलि फरक छ । हो, अलि फरक । अहिले रंगमञ्चबाट अभिनय यात्रा तय गरेका त्यस्ता कलाकारहरूको बोलबाला छ यस क्षेत्रमा । आधुनिक र फुच्चे प्रविधिसँगै फुच्चे कलाकारहरू, फुच्चे निर्देशकहरूको आगमन बढ्दो छ यहाँ । तर, यसो भन्दैमा ग्रामीण दर्शकहरूले खोजेका हिरो हिरोइनका दिन गएकै हो त?

अन्योल ! तर, अलिकता आत्मविश्वास ।

हामी फरक धारमा काम गर्नेहरू । हामी आफूलाई हिरो हिरोइन भन्दा कलाकार भनिदिउन् भन्न रुचाउँनेहरू । तर नेपालमा अझ पनि त्यस्ता धेरै ठाउँ छन्, जहाँ उनीहरू फिलीमका हिरो हिरोनी नै खोज्छन् । हिरोमा राजेश हमाल र हिरोइनमा रेखा थापा नै खोज्छन् । तर, यसो भन्दैमा नयाँ कलाकार चाँही उनीहरूले खोजे जस्तो हिरो हिरोइन बन्न सक्दैनन् त ?

अन्योल ! तर, अलिकता आत्मविश्वास ।

नेपालबाट लुङ्गी हल्लाकै भरमा बाहिरीया चलचित्रले करोडौं कुम्लाएर लान्छ, तर हाम्राले भने पानी पनि माग्न नपाएको अवस्था छ । आखिर यही नै हो बिडम्बना । नयाँ प्रविधि, नयाँ पुस्ता, नयाँ सोच अनि जागरका साथ यी पुराना पुस्ता अनुकुलित भइदिएको भए सायद नेपालका एकताकाका सुपरस्टारहरू पलायन हुनु पर्दैनथ्यो होला । नेपाली चलचित्रलाई माया गर्ने नेपाली दर्शकको संख्या बढ्दै जान्थ्यो होला । जे होस्, राम्रा नेपाली सिनेमालाई माया गरौं । जय नेपाली सिनेमा !

चलचित्र वनफूलका बारेमा थप जानकारिका लागि यसको अफिसिएल फेसबुक पेजमा जान सक्नुहुन्छ ।

]]>
https://bhajumahesh.com/heroine-ko-rekha-thapa-ho/feed/ 0 110