मोवाइल फोन अनलक गरे । देखे दुईवटा मिसकल । भाइ सन्तोषको रहेछ । तुरुन्त कलब्याक गरे ।

रिङ् गयो । उसले उताबाट फोन उठाउनासाथ मैले भने ‘अ, भन् ।”

‘तैले, एउटा खवर था‘पाइस ?” सन्तोषले उत्सुकता साथ मलाई सोध्यो ।

‘अह, था‘पाइन त !” मैले केही थाहा नपाए झै भने । हुन पनि मलाई त्यल्ले भन्न आटेको खबरको बारेमा के था ?

‘नारन काका त गएछन् !” सन्तोषले अलि भावुव हुँदै भन्यो ।

‘ए ! कैले ?” म पनि छक्क परे । मैले थाहा पाईहाले, नारन काका काँ गएका हुन् भनेर । परलोक ! एकदिन सवैले जानै पर्नै ठाउँ ।

बुढा ! बिचरा नारन काका ! अलि बर्ष अघिदेखि नै तिनी बिरामी थिए । गएको साल पत्ता लागेछ, कि तिनलाई त टिवी भएको रहेछ ।

पाँच महिना मात्र भएको थियो नजिकैको भिमान स्वास्थ्य चौकीबाट निःशुल्क डट्स लिदैंथे क्यार !


‘हजारको देखेर नोट पनि, चिल्लो भयो नारन, साउनीको ओठ पनि !” मिठो भाका हालेर यो गीत गाउँथे नारन काका, आफ्नो नियमित दैनिकी बित्ने साइलीको भट्टिमा । पाँच रूपैँयाको नोट साउनीलाई देखाउँदै उनी यही गीत बारम्बार गाउने गर्दथे । ‘हजारको देखेर नोट पनि…”

साउनी पनि के कम ‘अ, यो नारन बजिया ! हजार र पाँच रुपैँयाको नोट पनि चिन्दैन भन्ठान्दो हो !”

नारन काका साउनीको त्यो बचनले खिस्रिक्क पर्थे, अनि भन्थे ‘हजार हैन त हामीलाई पनि था‘छ नि । त्यै पाँच रुपियाँको भए पनि देउ न त, एक गिलास ।” चाउरी परेका गाला । गुन्द्रुके कपाल । दुव्लो–पातलो ज्यान । हरबखत धोती बेर्ने अनि मैलो सर्ट भिरेका, यी बुढा नारन काकाका खुट्टामा कहिले काँही हुन्थे हात्ति छाप चप्पल । तर प्रायजसो उनका ती खुट्टाहरू नाङ्गै हुनेगर्थ्याे ।

त्यसबखत गाउँमा हल्ला चलेको थियो कि नारनलाई सुँघ्ने बित्तिकै लाग्छ भनेर । हुन पनि हो । बिहानपख सद्धे डाँडा लागेका बुढा आधा–एक घण्टामा ‘हजारको…” गीत गाउँदै वल्लो भित्ता र पल्लो भित्ता गर्दै आइपुग्थे । घर पुग्नासाथ नारन काका र काकीको महाभारत शुरु हुन्थ्यो ।

मैले पढ्ने स्कूल नारन काकाको घर नजिकै पर्थ्याे । स्कूल जाने बेला जहिले पनि बाटामा एक न एक थोक बज्रिएकै हुन्थ्यो । कहिले कुचो, कहिले सिलावरको थाल त कहिले बुढाको धोती, बाटामा आइपुग्थ्यो । स्कूल आएका केटाकेटीहरूको त्याँ जमात लाग्थ्यो उनीहरूका चर्तिकला हेर्नका लागि ।

नारन काकाले च्याँठिदै ठूलो स्वरमा ‘तिमीहरूलाई त…!” भनेर चिच्याए पछि, केटाकेटीहरूको भागाभाग हुन्थ्यो । कति त डरले ती लड्थे । कोही कट्टु समाउँदै पाखा लाग्थे । उनी घरमा नानाभाती फलाकेको, स्कूलका कक्षा कोठा–कोठामा सुनिन्थ्यो ।

स्कूलका शिक्षक–शिक्षिकाहरूले पनि नारन काकालाई बेला–बेलामा सम्झाउने गर्थे । सम्झाउँन्जेलसम्म असल बालकले झैं मुण्टो झुकाएर उनीहरूको कुरा बडो ध्यान पूर्वक सुने झैं, हो होमा हो मिलाउँथे र ती शिक्षक–शिक्षिकाहरू आफ्नो बाटो लागेपछि, सनक्क सन्कदै तिनी भन्थे ‘तिम्रा बाउँका…खाइद्या छैन क्यार !”


‘हे आमा ! नारनको…!” नारन काकाको अर्को भाका थियो यो । ‘हे आमा ! नारनको…!”

उनको यो भाका भने अलि मर्मस्पर्शी हुन्थ्यो । यो भाका सुनेपछि पत्ता लाग्थ्यो कि आज नारन काका पक्कै पनि पीरमा परेका छन् वा कुनै गहिराे पीडामा छन् अथवा उनले कसैको झपार खाएका छन् । घरमा बुढीसँग झगडा गरेर बसेका दिन पनि दिनभर उनी यही गीत गाउँदै बस्थे ‘हे आमा”

‘छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी !” यो उनलाई कसैले नपत्याएको बखत गाउँने अर्को घतलाग्दो भाका थियो । तर उनको हातमा पाँचको नोट पर्नासाथा अनुहारको चमक नै फेरिन्थ्यो र सुरु हुन्थ्यो ‘हजारको देखेर नोट पनि…’

गाउँमा शहरबाट कोही आएको थाहा पाउनासाथ तिनको अगाडि थोते दाँत फिस्स पार्दै पुगिहाल्थे हात फिँजाउन । अनि भन्थे ‘टेन रुपिज, प्लिज !’

उनले एक अक्षर पनि पढेका छैनन् रे, मेरा बुबा भन्ने गर्नुहुन्थ्यो । तर जाँड–रक्सीले मातेको बेला उनी खर्रर्र अँग्रेजी मिसाइ–मिसाई बोल्थे । म तीन छक्क पर्थै–हैन एक अक्षर पनि नपढेका मान्छेले यति मज्जासँग कसरी अँग्रेजी बोलेको होला !

‘ह्वाट इज दिस…हुचुकु प्यामे !’ यो ‘हुचुकु प्यामे’ को अर्थ के हो यो त तिनलाई पनि थाहा थिएन तर उनको मुखमा झुण्डिसकेको थेगो जस्तै भैसकेको थियो यो, ‘हुचुकु प्यामे’ । उनको दिमागमा एक किसिमको मज्जाको भ्रम थियो कि, शहरबाट आउनेहरूसँग टन्न पैंसा हुन्छ र तिनले मागेका जत्ति दिन्छन् रक्सी खानलाई । अझ शहरबाट आउनेहरूसँगको उनको फर्माइस ‘लोकल’ हुन्नथ्यो, ‘बिदेशी’ हुन्थ्यो र भन्थे ‘नो, नो लोकल…सिलप्याक..सिलप्याक ।’ शहरबाट आएकाहरूमा कोही कोही त पैसावाला नै हुन्थे । तिनीहरूले भने नारन काकाको फर्माइस पुरा गर्नसक्थे । तर बिचरा ती मजस्ता बिद्यार्थीहरू भने बेला–बेलामा मर्कामा पर्थे । माया लाग्थ्यो तिनको चाउरी परिसकेका अनुहारले, थोते दाँत देखाइ फिस्स हाँस्दा अनि दिने गर्थे म पनि ‘सय–पचास’ ।

बिशेष गरी दशैंका बेलामा नारन काकालाई भने वास्तवमै दशैं आउँथ्यो । दशैंको बेलामा शहरमा रहेका र विदेशबाट फर्किएका गाउँलेहरूले दिएका पैंसाहरूले नारन काकाको धोतीको पोल्टा भरिन्थ्यो । उनको भुँइमा खट्टा हुन्नथ्यो, त्यो बेला । उनी आफूलाई गाउँकै धनी सम्झन्थे । बिहानदेखि डाडाँमा उक्लिएका नारन काकाको फिर्ती सवारी राती सवैजना सुतिसके पछि हुन्थ्यो । उनी कराएको परैबाट प्रस्ट सुनिन्थ्यो । त्योबेला उनको मुखबाट नेपाली–अँग्रेजी र अन्य–अन्य उनका आफ्नै शव्द–सागरहरूले भरिएका मानसपटलबाट विभिन्न आवाज र शव्दहरू बाहिर भुटिएका हुन्थे, मकै भुटेझैं । र घर पुग्नासाथ सुरु हुन्थ्यो क्रमशः रहेको महाभारतको बाँकी भाग । नारन काकीदेखि लिएर उनका छोरा–छोरीले समेत तिनलाई कुट्ने र नानाभाती गालि गर्ने गर्दथे । उनी डाँको छोडेर रोएको मेरो कानले सहन सक्दैनथ्यो । निदाइसकेको म पनि बिउझने गर्दथे, झल्यास्स् उनको रोदन सुनेर । सुन्थे र सुनिरहन्थे । र त्यहाँको हल्ला कम भए पछि, पानी पिएर घुप्लुक्क सुत्थे ।


जाँड–रक्सी नछोएको दिनका कुरा बेग्लै हुन्थे नारन काकाका । उनको रूप नै फेरिएको हुन्थ्यो । उनी सारै भद्रभलाद्मी झै हिंड्ने र कुरा गर्ने गर्थे । मेरा बुबा भन्ने गर्नहुन्थ्यो ‘यो नारन बजिया, जाँड खाँदा मात्र हो त्यस्तो । नखाँदा त भद्र छ नि गधा!’

उनी जवान छँदा त निक्कै हट्टाकट्टा र फुर्तिला थिए अरे । कत्रा–कत्रा काठका खावा जङ्गलदेखि एकैजनाले जुरुक्क बोकेर, फननन घर ल्याइपुर्याउँथे रे । खेतिपातीमा पनि उतिकै सिपालु थिए रे तिनी । गाउँमा काम–कर्म केही गर्नु पर्यो की सबैले नारनलाई नै खोज्ने गर्थे रे । सबैका प्यारा थिए नारन काका ।

तर, रक्सी उनको मुखमा परेको दिनको त कुरै नगरौं !

पछिल्लो समय, यसपटकको दशैंमा उनलाई देखेर मेरो मन साह्रै कुडिएको थियो । झन् झन् दुव्लाएर, हड्डि मात्र पो देखिन्थ्यो उनको ज्यानमा । तर उनको त्यो चाहुरी परेको अनुहारले थोते दाँत देखाइ हाँस्ने बानी भने जस्ताको तस्तै रहेछ ।

म छक्क परे । यसपालि त उनले ‘गिभ मि टेन रुपिज’ भनेर हात पनि पो पसारेनन् । केही दिन गाउँमा बस्दा उनको आवाज पनि सुन्न पाईन । मैले बुबाकै मुखबाट सुने, उनलाई टिवी भएको छ रे । ‘अचेल जाँड–रक्सी केही पनि छुँदैन । साधु भएको छ मोरो ।’ बुबा भन्दै हुनुहुन्थ्यो । ‘भिमानबाट डट्स ल्याएर खादैछ । खै, निको हुन्छ त होला नि!’

मलाई नारन काकालाई टिवी भएको छ भन्नासाथ एकदिनको याद आयो । एकदिन गाउँमा खै कस्ले हो टि.भी. ल्याएका थिए । नारन काकाले पनि थाहा पाएछन्, टि.भी. ल्याएको कुरा । ‘पैसा हुनेले ल्याउँछन् नी टि.भी. । आफ्नो त ज्यान मै छ टिवी, किन चाहियो र टि.भी.!’ उनी सबैलाई यसै भन्दै, सुनाउँदै हिड्थे । ‘यी, अनि यो चाँहि मेरो एन्टेना !’ उनी आफ्नो टुप्पी तनक्क तानेर देखाउँथे । तर उनले यसो भन्न थालेको मैले आठ कक्षा पढ्दादेखि नै हो अर्थात् उनलाई वास्तवमै टिवी भएको छ–सात बर्ष पहिले । तर आज उनी भोग्दै थिए वास्तविक टिवी हुनुको पीडा ।

सधैं हल्ला खल्ला गरेर गाउँ नै थर्काउने नारन काकाको अस्ताउँदो स्वरूप देखेर साह्रै नै माया लाग्यो मलाई । उनको हल्ला नसुनिएर पनि होला पूरै गाउँ नै शून्य थियो ।

बिहान लुसुक्क हात पछाडी बाँधेर डाँडा लाग्थे अनि दिनभर त्यही डाँडाको प्रतिक्षालयमा दुनियाँका नानाभाती कुराहरू सुनेर साँझपख फेरि त्यसरी नै ओरालो झर्थे । अब, यो नै उनको दिनचर्या भईसकेको थियो । पहिले उनी आएको र गएको पनि परैबाट थाहा हुन्थ्यो तर अब त…

उनी पारीपट्टी अस्ताउन थालेको सूर्यलाई हेर्दै के–के, के–के कल्पन्थे–सायद कल्पन्थे, एकदिन यो सूर्य झैं मेरो पनि जीवनको सूर्य सदाका लागि यसरी नै अस्ताउने छ !


‘ए, कहिले गएछन् त बुढा ?!’ म अक्क न बक्क परे ।

‘हिजो दिउँसो ३ बजेतिर, सुतेकै ठाउँमा ज्यान छाडेछन् !’ सन्तोषले वाक्य टुङ्ग्यायो ।

बिचरा नारन काका! धन्न सुतेकै ठाउँमा सुखद् मृत्यु अँगालेछौ!

मलाई तिनका चाउरीएका अनुहार, ती थोते दाँत, तिनका निरन्तर गाइरहने भाका, तिनको ज्यान खर्रर याद आयो । पूर्वस्मृती भयो । फ्ल्यासब्याक!

यसपालिको दशैंमा तिमी थियौं र त शुन्य लाग्यो, अब त तिमी नै रहेनौ नारन काका, अझ झन् कति शुन्य हुने हो है त्यो चुरे डाँडा ।

शुभ विदाइ, काका!


भाजु महेश, २०६६ मङ्शिर, कालिमाटी चोक, पोखरा

Photo Credit:
Plowing the field. Photo: Sajal Sthapit/Ecoagriculture Partners, Flickr

Leave a Reply

Your email address will not be published. Required fields are marked *