मितिः वि. सं. २०६४, महिना एकिन भएन
स्थानः पशुपत्ति मन्दिरको गौशालातिरको क्षेत्र
समयः बिहानकाे ८ बजेतिर

पशुपत्तिको पछाडीपट्टीको भाग, अर्थात् लास जलाउने क्षेत्रतिरबाट हातमा एकजोर जुत्ता बोकेर कुद्दै गौशालातिर जाँदैछु, म ।
मेरो पछि पछि एकजना मान्छे, “चोर चोर, समात् चोर, मेरो जुत्ता चोर्ने, चोर ।” भन्दै कराउँदै मेरै पछि पछि आउँदैछ ।
मन्दिर दर्शन गरेर आउँदै गरेका र मन्दिर दर्शन गर्न जाँदै गरेका छेउछाउका मान्छेहरुले मतिर हेर्न थाले । म अगाडि दौडने क्रममा पछाडि मेरो पछि-पछि कुद्दै आएको मान्छेलाई हेर्दै थिए । अघिसम्म उनी एक्लै थिए । अहिले त उनीसँगै दौडेर मेरै पछि-पछि आउने पाँच-दश जना थपिइसकेछन् । म कुदेर, भाग्दै गौशालातिरको भागमा आइपुग्न लाग्दा एकजना सज्जनले च्याप्प मेरो कठालो समाए । उनी छोरीलाई स्कूल पुर्याउन जान लागेका रैछन् । उनको छोरीतिर मैले पुलुक्क हेरे । छोरी आत्तिएर रुन थालिसकेकी थिइन् । मेरो पछि-पछि मलाई लखेट्दै आएका एक हुलले, “साला चोर । अर्काको जुत्ता चोर्छस् ।” भन्दै गोदुला झैं गरे । एकजनाले त मेरो हातमा भएको जुत्ता फुत्त तानेर पहिलो व्यक्तिलाई दिँदै, “यी लिनुस् तपाईको जुत्ता ।” भनेर दिए । मलाई कठालो समाउने व्यक्ति भने मेरो कठालो बेलाबेलामा हल्लाई नै रहेका थिए । उनको छोरी मलाई र उनलाई हेरी रोई नै रहेकी थिइन् ।

एकैछिनमा वरपर भएका अन्य व्यक्तिहरूले, “छातिमा मेरो, यो छोटो भोटो” भन्ने गीत तालि पिट्दै गाउन थाले । एकजनाले मादल बजाए; अर्कोले खैजडी । गीत गुँन्जदै गयो । म पनि उनीहरूसँगै तालमा ताल मिलाएर सोही गीत गाउन थाले । मेरो कठालो समाउने व्यक्ति वरपर हेरेर अकमक्क परे । रुँदै गरेकी उनकी छोरी नि चुप लागिन् । जुत्ता चोरिएको व्यक्ति पनि हाँस्दै भिडको बिचमा गएर, हातमा उही जुत्ता झुण्डाएर उद्घोष गर्न थाल्यो, “नमस्कार, आदरणीय दर्शकहरू । हामी मण्डपिका कला समूहबाट एउटा कचहरी नाटक लिएर यहाँहरू सामू भेला भएका छौं । हामी केहीबेरमा नै नाटक सुरु गर्दछौं । आशा छ त्यतिन्जेलसम्म यहाँहरू सबै हामीसँगै जोडिएर रहनु हुनेछ । धन्यवाद ।” यति भन्दै उनी, उनी अर्थात् जसको जुत्ता चोरिएको हो, जसको जुत्ता चारिएको हो अर्थात् रामबाबु रेग्मी । रामबाबु पनि हाम्रै सगोलमा आएकार नाच्न थाले । वरपरका मान्छेहरू गलल हाँस्न थाले । मेरो कठालो समाउने व्यक्ति नमज्जा मान्दै मलाई हेरेर, “सरी, है, सरी ।” भन्न थाले । मैले, “हैन, त्यस्तो केही मान्नु पर्दैन । यो हाम्रो नाटककै भाग थियो । हामी नाटक सुरु गर्नु अघि दर्शकहरूका ध्यान आकर्षित गर्न यस्ता हर्कतहरू गर्ने गर्छौं ।”

हजुर, सडक नाटक, कचहरी नाटक वा खुल्ला स्थानमा गरिने कुनै पनि विधाका नाटक गर्नु अघि यस्ता हर्कत गर्नुलाई हामीले ‘अङ्गुरी बदन’ नाम दिएका थियौं । हामी अर्थात् गंगा उर्फ विकास तिवारी र मैले । अङ्गुरी बदन, हिन्दी कथानक चलचत्रि जानवरको एउटा आइटम गीत वा नाच ‘छमक छम छम्के अङ्गुरी बदन…’ बाट लिइएको शब्द हाे । जसमा उबेलाका चर्चित नायिका करिश्मा कपुरको नृत्य रहेको छ भने, गीतलाई सपना अवस्थीले गाएकी हुन् । खै, कसरी फुर्यो यो शब्दावली थाहा छैन । एकदिन यसरी नै नाटकको प्रारम्भमा गीत गाउँनका लागि खैजडी झिक्दै गंगाले भन्यो, “आउँ माइला, अङ्गुरी बदन देखाउन जाऔं ।” उसले भनेको अङ्गुरी बदन शब्दावलीले मलाई मज्जाले छोयो । हो, त, हामीले गर्ने यो काम अङ्गुरी बदन वा कुनै आइटम नाच भन्दा कम कहाँ थियो र! जसरी चलचित्र चलाउन त्योबेला एउटा न एउटा आइटम गीत वा नाच राखिन्थ्यो; हुन त अहिले पनि यो क्रम जारी छ; त्यसरी नै हामीले हाम्रा नाटक हेर्ने दर्शकको ध्यान तान्न नाटक अघि कुनै न कुनै हर्कत वा इम्प्रोभाईजेसन (तत्काल अवस्था हेरी सृजना गरि गरिने अभिनय, जसलाई आँशु रचना पनि भन्ने गरिन्छ) गर्ने गर्दथ्यौं । खुल्ला स्थानमा गरिने नाटकमा पहिले नै बोलाइएका दर्शकहरू छन् भने यस्ता हर्कत गरिरहन पर्दैन तर दर्शक पहिले नै घोषित नभएका स्थानहरूमा भने अङ्गुरी बदनको जरुरत हुन्थ्यो । यसरी अङ्गुरी बदन देखाउँदै हामी काठमाडाैंका गल्लि-गल्लि मात्र हैन, नेपालका विभिन्न कुना काप्चामा समेत पुग्ने गर्दथ्यौं । ठाउँ र परिवेश हेरी अङ्गुरी बदनको ढाँचा, स्वरूप र भाषा भने फरक हुने गर्दथ्यो ।

म, तपाईंहरुलाई केही मेरा जिवनका अङ्गुरी बदन अनुभवहरू पस्कँदै जानेछु । मनपरेमा लाइक, कमेन्ट र शेयर गर्नु कन्जुसाई नगर्नुहोला । भेटेको बेला अङ्गुरी बदन देखाउन तयार छुँ ? ।

क्रमशः

तस्विरः कचहरी नाटक 'मधेश तराई'काे एक दृष्मा अभिनय गर्दै सीतामाया श्रेष्ठ (बायाँ) र महेश श्रेष्ठ (दायाँ) । साङ्केतिक तस्विरका रूपमा प्रयाेग गरिएकाे । यस नाटक अघि पनि विभिन्न स्थाहरूमा हामीले अङ्गुरी बदन प्रस्तुत गरेका थियाैं । तस्विर साभारः शिल्पी कला समूह

6 comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *