मितिः २०६९ भदौ महिना
दिनः ठ्याक्कै थाहा भएन
स्थानः आरुघाट, धादिङ
समयः दिउँसो


“हिरोनी को, रेखा थापा हो ?” एकजना आमैले सोधीन् । उनीसँग अन्य केही विभिन्न उमेर समूहका महिलाहरू पनि थिए । उनीहरूको अनुहारमा पनि उत्तिकै चाख थियो हिरोइनका बारेमा बुझ्ने ।
“हो, हो । रेखा थापै हो ।” मैले भनिदिए । 
उनीहरू बिच चहलपहल शुरु भयो । मुखामुख गर्न थाले ।
“खै त का छ नि, रेखा थापा ।” आमैले अझै जिज्ञासु बन्दै सोधिन् ।
“खै आज आकाश खुल्यो भने हेलिकप्टरमा आउँछिन्, काठमाडौंबाट ।” मैले नि सहज जवाफ दिए ।
“ए, ल त भोलि हेर्न आउनु पर्ला त्यसो भए ।” बुढी आमै जान मात्र लागेकी थिइन्, केही सम्झे झैं फर्केर मुस्स हाँस्दै पुनः सोधिन् ।
“अनि हिरो को, राजेश हमाल हो ?”अब भने मलाई अलि कस्तो–कस्तो भयो ।
“हैन आमै, हिरो राजेश हमाल हैन । अनि हिरोनी रेखा थापा पनि हैन । यही भिडमा छन् कलाकारहरू । को हिरो जस्तो देखिन्छ, अनि को हिरोनी जस्तो, हेर्नु त, अनि आफै पत्ता लगाउनु ।”आमैले छक्क पर्दै ओठ लेप्राइन् । यसो वरपरी सबलाई हेरिन् र “जाउँ हिँड ।” भन्दै अरुहरूलाई त्यहाँबाट हिँड्न सङ्केत गर्दै उनीहरू त्यहाँबाट हिँडे ।

“सट रेडि । ल हिरामान बाइक स्टार्ट गर्नु । क्यामेरा रेडी ?” निर्देशक नवराज कराए ।
“रेडी ।” क्यामेराम्यान राजिब चिच्यायो ।
“केदार, त्यहाँको मास कन्ट्रोल गरौं है ?”
“हिरामान रेडी हो ?” नवराज ।
“हो ।” म अर्थात् हिरामान, हिरामान मेरो चलचित्रको नाम । 
मैले आफ्नो बुढी औंला देखाउँदै आफू रेडि भएको संकेत दिए ।
“क्यामेरा रोलिङ् ?” नवराज ।
“रोलिङ ।” राजिब करायो ।
“एक्सन् ।” नवराज ।

म बाइक भुर्रर पारेर अगाडी बढे । बिचमा स्टार्ट बन्द भयो । के भएछ भनेर यसो बाइक छेउ लाएर पार्टपुर्जाहरू हेरे । रिसको झोकमा बाइकलाई एक लात हाने ।
“कट् ।” नवराज फेरि कराए । “ल, सट् ओके ।”

फेरि एकछिन चहलपहल शुरु भयो । केदारले रोकी राखेका मास अर्थात् मान्छेहरूलाई छाडिदिए । उनीहरू कल्याङ्मल्याङ् गर्दै अगाडि आए । केहीले मेरो अगाडि आएर मुस्स हाँस्दै अर्को साथीतिर हेर्यो । ती अर्का साथी पनि फिस्स हाँस्यो । सबैजसोले मलाई ट्वाल्ल पर्दै, हेर्दै आफ्नो बाटो लागे । कतिले त फर्कि फर्कि पनि हेरे ।

म भने खासै छक्क परिन । किनकी उनीहरूले ममा हिरो खोजेका थिए । हिरो अर्थात् राजेश हमाल । राजेश हमाल न भएनी राजेश हमाल जस्तै खोजेका थिए उनीहरूले ममा । लामो–लामो नभए झ्यापुल्ले कपाल, खाइलाग्दो ज्यान भएको जसलाई केटीहरू ‘हङ्क’ भन्न रुचाउँछन्; जीउडाल मिलेको, सुकिला मुकिला । सायद उनीहरूले ममा त्यस्तो पाएनन् र त ओठ लेप्राउँदै लागे आफ्नो बाटो । डल्ले डल्ले, मोटो मोटो, झुसिल्किरा जस्तै जुँगा भएको, घामले डढेर त्यसै नि काले भएको, पुल्टुक्क भुडी बाहिर निस्केको, कपाल नि जिङ्रिङ्ग परेको, लुगा पनि त्यती सारो सुकिलो मुकिलो हैन, २ लटको यामाहाको थोत्रे एस्कर्ट चढेको, यस्तो नि के हिरो हुन्थ्यो भनेर नपत्याएकाहरूले कसरी हेर्छन् त ?

नेपाली कथानक चलचित्र ‘वनफूल’को सुटिङकाे लागि हामी एक हुल धादिङको आरुघाटमा थियौं । कहिले आरुघाट त कहिले सल्यानटार वरपर सुटिङ् लोकेशन पथ्र्यो । इतिहासमा पहिलोचोटी कुनै चलचित्रको सुटिङ् त्यस ठाउँमा भएको थियो । त्यही भएर पनि त्यस ठाउँमा व्यापक चहलपहल थियो । ‘हाम्रो गाउँमा पनि फिलीमको सुटिङ हँदैछ ।’ भनेर गाउँभरका मानिसहरू उर्लन्थे । स्कूल जाने विद्यार्थीहरू स्कूल नै छाडेर, घाँस–दाउरा जाने दाजुभाइ दिदी बहिनीहरू पनि कामै छाडेर सुटिङ् हेर्न आइपुग्थे । तर उनीहरूले पहिले–पहिले टिभीमा देख्ने गरेको सुटिङ्मा जस्तो ठूला–ठूला टिलिक्क टल्कने रिफ्लेक्टर, बिद्युत्तिय उपकरण, यामानको क्यामेरा नदेख्दा ट्वाल्ल पर्थे । हामीसँग रिफ्लेक्टर त थिए तर साना–साना । हाम्रो क्यामेरा क्याननको डिएसएलआर थियो । उनीहरूले खोजेको क्यामेरा भन्दा बिल्कुल सानो ।

“एहे, कस्तो फुच्चे क्यामेरा !” एकजना स्कूलको ड्रेसमै सुटिङ हेर्न आएको भाइले भनि पनि हाल्यो । उसँग उसका केही साथीहरू प्नि थिए । यन्त्र, उपकरणमा आँखा घुमाइसकेपछि उनीहरूको आँखा पुनः एक राउण्ड घुम्थ्यो । ‘हिरो हिरोनी’ खोज्न होला सायद ।

त्यही स्कूले भाइले मेरो छेउमा आएर सोध्यो ।

“दाइ यो फिलीमको हिरो को ?”

मलाई कस्तो गाह्रो प्रश्न सोधेको होला यो केटोले भने झैं भयो ।

“उ त्यो दाइलाई सोध जाउ ।” मैले हाम्रो मेकअप आर्टिस्ट शंकरतिर देखाउँदै भने ।

उनीहरू शंकर भए ठाउँमा पुगेर उसलाई पनि त्यही प्रश्न सोधे । शंकरले पुलुक्क मतिर हेर्यो । म मुसुक्क हाँसे । शंकर पनि मुसुक्क हाँस्दै मतिर देखाइदियो । ती केटाहरूले नपत्याए झै मलाई हेरे ।

मेरो छेउमा पनि नपरि उनीहरू लाइट फिट भैरहेको ठाउँतिर गए ।

फेरि डाइरेक्टर साब चिच्याए,  “ल सट रेडि ।”

***

अचम्मको क्रेज बनाएका रहेछन् हाम्रा रेखा थापा र राजेश हमालले । मलाई त एक मनले यस्तो नि लाग्यो कि, यी दुई जोडीलाई लिएर चलचित्र बनाउने हो भने बबाल मार्केट लिन्थ्यो होला । तर अहिलेको नेपाली चलचित्रको अवस्था अलि फरक छ । हो, अलि फरक । अहिले रंगमञ्चबाट अभिनय यात्रा तय गरेका त्यस्ता कलाकारहरूको बोलबाला छ यस क्षेत्रमा । आधुनिक र फुच्चे प्रविधिसँगै फुच्चे कलाकारहरू, फुच्चे निर्देशकहरूको आगमन बढ्दो छ यहाँ । तर, यसो भन्दैमा ग्रामीण दर्शकहरूले खोजेका हिरो हिरोइनका दिन गएकै हो त?

अन्योल ! तर, अलिकता आत्मविश्वास ।

हामी फरक धारमा काम गर्नेहरू । हामी आफूलाई हिरो हिरोइन भन्दा कलाकार भनिदिउन् भन्न रुचाउँनेहरू । तर नेपालमा अझ पनि त्यस्ता धेरै ठाउँ छन्, जहाँ उनीहरू फिलीमका हिरो हिरोनी नै खोज्छन् । हिरोमा राजेश हमाल र हिरोइनमा रेखा थापा नै खोज्छन् । तर, यसो भन्दैमा नयाँ कलाकार चाँही उनीहरूले खोजे जस्तो हिरो हिरोइन बन्न सक्दैनन् त ?

अन्योल ! तर, अलिकता आत्मविश्वास ।

नेपालबाट लुङ्गी हल्लाकै भरमा बाहिरीया चलचित्रले करोडौं कुम्लाएर लान्छ, तर हाम्राले भने पानी पनि माग्न नपाएको अवस्था छ । आखिर यही नै हो बिडम्बना । नयाँ प्रविधि, नयाँ पुस्ता, नयाँ सोच अनि जागरका साथ यी पुराना पुस्ता अनुकुलित भइदिएको भए सायद नेपालका एकताकाका सुपरस्टारहरू पलायन हुनु पर्दैनथ्यो होला । नेपाली चलचित्रलाई माया गर्ने नेपाली दर्शकको संख्या बढ्दै जान्थ्यो होला । जे होस्, राम्रा नेपाली सिनेमालाई माया गरौं । जय नेपाली सिनेमा !

चलचित्र वनफूलका बारेमा थप जानकारिका लागि यसको अफिसिएल फेसबुक पेजमा जान सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *