“उ चेट, चेट, चङ्गा चेट ।” सुजन चङ्गाकाे पछि पछि कुद्न थाल्याे । म पनि उसकाे पछि पछि कुदे । चेट भएकाे चङ्गा हावाकाे बहावसँग जता जता बत्तिन्थ्याे हामी पनि त्यतै त्यतै हुत्तिन्थ्याैं । चङ्गा आकाशमा बत्तिरहेकाे हुँदा, त्यतै हेरेर कुद्दा, कहिले ठाेकिने, कहिले लड्ने हुन्थ्याे; त्यही पनि हामी चङ्गा हात पार्न कुदी नै रहेका
हुन्थ्याैं ।

अलि पर गाैरीघाट नजिकैकाे खेतमा चङ्गा झर्याे । चङ्गा झर्नु अघि नै त्यहाँ हामी जस्ता केटाकेटहीहरू हुल बाँधेर बसिसकेका रहेछन्, चेट भएकाे चङ्गा टिप्न । एउटा हाेचाे कद भएकाे केटाेले चङ्गा हात पारेछ । ‘याे चङ्गा मेराे हाे’, भनेर दाबी गर्न अरू चार पाँच जना केटाहरू पहिले नै त्यहाँ पुगिसकेका थिए । सुजन र म पनि त्यही भीडमा मिसियाैं । केटाहरू बिच चङ्गा तानातान हुन थाल्याे । चङ्गा च्यातिएर चङ्गाकाे कागज दुईजना केटाहरूका हातमा, चङ्गाकाे करङ सुजनकाे हातमा र धागाे भने मेराे हातमा पर्याे । सबै केटाहरूले केहीबेर एकअर्कालाइ हेराहेर गरे । अनि सबैले आकाशतिर हेरे । म हातमा धागाे बेर्न थाले । आकाशमा धेरै नै चङ्गाहरू उडिरहेका थिए । केही चङ्गाहरू जुध्दै थिए । अबकाे केही बेरमा अर्काे चङ्गा पनि चेट हुनेवाला थियाे । हामी सबै आशातित भई आकाशतिरै हेरिरह्याैं ।

वि. सं. २०५०-५२ तिरकाे कुरा । हामी काठमान्डूकाे कुमारीगाल, गाैरीघाट एरियामा बसाेबास गर्थ्याैं । बुबाआमाकाे भुत्ले क्याम्पस थियाे । त्याे बेला ऊनी धागाेकाे व्यवसायलाई भुत्ले क्याम्पस भन्थे । दुईवटा घरमा तल्लाे तलादेखि माथिल्लाे तलासम्मै चर्खा र फिर्के, ऊनका डल्ला र लाछीहरू यत्रतत्र छरिएका हुन्थे । हामीले लगाउने लुगामा ऊनकाे भुत्ला टाँसिएकाे त हुन्थ्याे नै, हामीले खाने खानामा समेत उनका रेसाहरू मिसिन्थे । अ, भुत्ले क्याम्पस माथि छुट्टै कथा अर्काे बेला लेखम्ला, सुनाम्ला ।

असाेज महिनाकाे पहिलाे हप्ता, पानी पर्न छाडेर आकाश निलै भएर खुलेकाे थियाे । गाैरीघाट आसपासका खेतहरू धानले पहेलै देखिएका थिए । कुमारीगाल अलि हाइटमा भएकाे हुँदा गाैरीघाटतिरका खेतका फाँटहरू धानकाे सिजनमा पहेलपुर र अन्य सिजनमा हरियाे देखिन्थ्याे । पछि ती फाँटमा फाट्टफुट्ट घरहरू फल्न थाले । अहिले त्यहाँ घरैघरै फलेका छन् । अन्न र तरकारी फलाउने ठाउँ कहाँ पाउनु !

एकदिन हाम्राे घर नजिकैकाे गल्लिमा जाेन र साेन एउटा सिलाैटा जस्ताे ढुङ्गा माथि अर्काे लाेहाेराे जस्ताे ढुङ्गाले केही पिँध्दै थिए । ‘चिरिक, चिरिक’ आवाज आउने, मसिनै हुने गरी सिसा पिँध्दै रहेछन् । जाेन र साेन दुइ जुम्ल्याहा दाजु भाइ थिए । हाम्राे भुत्ले कारखानाकाे छेवैमै उनीहरूकाे एकतले घर थियाे । उनीहरू हामी भन्दा अलि उमेरले ठूलै थिए । खासमा ती दुवै हाम्राे दाजुकाे साथी थिए । तर हामीहरूलाई पनि उनीहरूसँगै खेल्नवर्न समेट्थे । जाेनले मलाई देख्ना साथ, “ओइ, तसँग यस्ताे छ?”  भनेर साेध्याे । उसले भनेकाे यस्ताे, अरू केही नभएर ट्यवुलाइटकाे ट्युव थियाे । मैले ‘छैन’ भनेर मुन्टाे हल्लाए । साेनले थप्दै भन्याे, “छ हाेला । जा त हेर् ।” म ‘हुन्छ’ भनेर टाउकाे हल्लाउँदै घरतिर लागे ।

खासमा उनीहरू धागाेलाई धारिलाे बनाउने माझामा मिसाउन सिसा पिँध्दै रहेछन्, जसलाइ ‘खाँची’ भनिन्थ्याे । साबुदाना, पिठाे, अनि खाँचीलाई राम्राेसँग पकाएर माडजस्ताे बाक्लाे माझा बनाइन्थ्याे । त्यसरी बनाएकाे माझा धागाेमा दलिन्थ्याे । जाेन साेन दाइहरूका घरकाे छतमा पिलरकाे रड निस्किएकाे थियाे । साेही रडहरूका वरिपरि घुमाएर धागो बेर्दै माझा दलिन्थ्याे । यसरी माझा दल्दा कतिपटक हात चिरिने, काटिने हुन्थ्याे । माझा दलेपछि केही बेर धागाे सुक्नका लागि त्यतिकै छाडिन्थ्याे । यसरी माझा दलेकाे धागो बलियो र धारिलो हुन्थ्यो । जसले गर्दा अरूका चङ्गा चेट गराउन सजिलाे हुन्थ्यो । जसकाे धागाे धारिलाे छ, उसले धेरै चङ्गा चेट गराउन सक्थ्याे । जाेन, साेन र चाके दाइहरू हाम्राे टाेलकाे नामुद चङ्गा उडाउनेहरूमा पर्थे । चाके दाइ अर्थात् मेराे दाइकाे अर्काे साथी । उनकाे खास नाम कुमार हाे तर उनले लागू औषध सेवन गरी गरी ज्यान सुकाइसकेका थिए । उनकाे जीउ यतिसम्म सुकेकाे थियाे की, लगाएकाे प्यान्ट पनि कम्मरमा नअडिने, फुस्कीरहने, अनि उ हातले माथि तानी रहने; त्यही भएर उनका साथीहरूले उसकाे नाम ‘चाके’ राखिदिएका थिए ।

नीलाे आकाशमा थरिथरिका चङ्गाहरू उडिरहेकाे देख्दा दसैँ आउँदैछ भन्ने भेउ पाइन्थ्याे । चङ्गा चेट भएकाे बेला चङ्गा टिप्न धान खेतै खेत कुदेर गाैरीघाट र बागमतीसम्म पुग्नु हाम्राे दिनचर्या भैसकेकाे थियाे । त्यही भएर हाम्राे ध्यान भुँइतिर कम आकाशतिर बढी हुन्थ्याे । बाबाचे, तीन धर्के, राते, पहेले, जस्ता चङ्गाका नामहरू हुन्थे । चङ्गा उडाउने व्यक्ति काे हाे भनेर नचिनेता पनि चङ्गा हेरी, साेकाे आधारमा चङ्गा उडाउनेलाई बाेलाइन्थ्याे । जाेनले आकाशमा उडिरहेकाे बाबाचे चङ्गालाई इङ्गित गर्दै, “बाबाचे, धागाे छाेड । ए, बाबाचे, छाेड, धागाे छाेड ।” भन्दै, कराउँदै थियाे । उसले भने तीन धर्के चङ्गा उडाइरहेकाे थियाे । म पनि उसँगै स्वरमा स्वर मिलाउँदै, “बाबाचे, धागाे छाेड । धागाे नभए टुप्पी जाेड ।” भन्दै कराउँथे । यसरी कराउँदै उफ्रनुकाे मजा नै अर्कै हुन्थ्याे । केही बेरमै बाबाचेवाला चङ्गाकाे धागाे छुट्दै गयाे । मैजुबहालबाट उडेकाे चङ्गा बिस्तारै गाैरीघाटसम्मै आइपुग्याे । जाेनले लट्टाई हल्लाई हल्लाई घुमाउन थाल्याे । उसले पनि धागाे छाेड्दा बजेकाे लट्टाइकाे ‘प्याटर प्याटर’ आवाजले अब केही बेरमा बाबाचे र तीन धर्के जुध्नेवाला छ भनेर भेउ पाउन सकिन्थ्याे । सुजन र म चङ्गा टिप्न जान रेडी भएर बसेका थियाैं । सुजनले पनि आफूसँग भएकाे गाेल्टिनकाे लट्टाई मलाई देखायाे । त्याेबेला चङ्गा, लट्टाई, धागाे र माझा किन्नु जाे काेहीकाे बुताले भ्याउँदैनथ्याे । चङ्गा वा लट्टाई किन्न चावहिलकाे गणेशथान या त महाबाैद्धसम्मै पुग्नुपर्थ्याे । त्यही भएर, जुगाड सामानहरू प्रयाेग गरी लट्टाई बनाईन्थ्याे र चेट भएकाे चङ्गा बटुलेर उडाइन्थ्याे । धागाे भने त्यही चेट भएर आएकाे चङ्गासँगै चुडिएर आएका रहल पहल धागाेहरू गाँसेर लामाे बनाइन्थ्याे । लट्टाई बनाउन त्याे बेला पाउडर दुध प्याक भएर आउने टीनकाे बट्टालाई बढी जसाे प्रयाेगमा ल्याइन्थ्याे । हामी त्यसलाई ‘गाेल्टिन’ पनि भन्ने गर्दथ्याैं । गाेल्टिनकाे दुवै छेउमा प्वाल बनाएर बाँसकाे कप्टेराे घुसाएर बनाएकाे लट्टाईकाे आवाज अर्कै आउथ्याे ।

एकदिन चेट भएकाे चङ्गा लिन दाैडने क्रममा घरकाे छतबाट लडेर सुजनकाे खुट्टा भाँचियाे । उता सुजनकाे खुट्टा भाँचियाे, यता केही दिन म नजरबन्दमा परे । बुबा आमाले मलाई लगभग एक हप्तासम्म घरबाट बाहिर निस्कनै दिएनन् । बिहान स्कूल जाने, स्कूलबाट फर्कनासाथ घरमा बसेर पढ्ने बाहेक अरू काम भएन । बाहिर, बेला बेलामा मेरा अन्य साथीहरू कराएकाे, चिच्याएकाे सुन्थे । छिमेकमा जाेन-साेन दाइ पनि आफ्नाे छतमा निस्किएर ‘बाबाचे धागाे छाेड’ भन्दै कराउँदै थिए । म भने यता काेठाभित्रै बसेर,  “बाबाचे धागाे छाेड । धागाे नभए टुप्पी जाेड ।” भन्दै चिच्याउँदै थिए ।

***

असाेज, २०७९ । अझै पानी परि नै रहेकाे छ । आकाश अझै खुलेकाे छैन । बेला बेला खुलेकाे आकाशतिर हेर्छु; अह एउटा पनि चङ्गा देख्दिन ! घरैघरले भरिएकाे शहरका छतहरूमा निस्केर चङ्गा उडाउनेहरू आफै चङ्गा झै उडेर कतै हराए की, या चङ्गा उडाउने चलन नै बिलायाे की ? म साेच्दै एकछिन यत्तिकै टाेलाउँछु ।

Featured Photo Credit
"Kiterunners" by Fotovijver.nl is licensed under CC BY-NC-ND 2.0.

2 comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *